२०८३, आश्विन ९ गते

पक्राउपछि पत्रकार किशोर श्रेष्ठको निवासमा प्रहरीको छापा, ल्यापटप/मोबाइललगायत उपकरण नियन्त्रणमा

समाचार प्रकाशनकै विषयमा पक्राउ गरिएको भन्दै विरोध

बिहिवार , श्रावण २८, २०८३

‘जनआस्था’ साप्ताहिकका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेपछि उनको निवासमा प्रहरीले मध्यरातमा छापा मारेको छ। प्रहरीले नख्खुस्थित श्रेष्ठको निवासबाट ल्यापटप, कम्प्युटर तथा मोबाइललगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ।

बुधबार साँझ व्यक्तिगत गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दामा अदालतको अनुमति लिएर श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउलगत्तै उनलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको थियो। त्यसपछि प्रहरीले उनको नख्खुस्थित निवासमा पुगेर विद्युतीय उपकरण नियन्त्रणमा लिएको हो। निवासमा छापा मारेपछि प्रहरी टोली ललितपुरको ठाडोढुङ्गास्थित ‘जनआस्था’ साप्ताहिकको कार्यालयमा समेत प्रवेश गरी छापा मार्ने तयारीमा रहेको जनाइएको छ।

प्रहरी मिडिया हाउसमा प्रवेश गरी छापा मार्ने तयारी गरेपछि पत्रकारहरूले विरोध गरेका छन्। प्रेस स्वतन्त्रता र सञ्चारमाध्यमको व्यावसायिक अधिकारको रक्षाका लागि विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार जनआस्थाको कार्यालयमा पुगेका छन्। ‘मिडिया हाउसमा गैरकानुनी रूपमा छापा मार्न पाइँदैन’ भन्दै पत्रकारहरूले प्रहरीको कदमप्रति आपत्ति जनाएका छन्।

समाचार प्रकाशनकै विषयमा पक्राउ गरिएको भन्दै विरोध

श्रेष्ठ पक्राउ परेपछि पत्रकारिता क्षेत्रसमेत आन्दोलित बनेको छ। समाचार प्रकाशनप्रति असहमति वा चित्त नबुझेमा प्रेस काउन्सिल नेपाल तथा स्थापित कानुनी प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा सम्पादकलाई पक्राउ गर्ने र सञ्चारगृहमा छापा मार्ने कार्यले प्रेस स्वतन्त्रतामाथि प्रश्न उठाएको पत्रकार सम्बद्ध संस्थाहरूको भनाइ छ।

श्रेष्ठलाई पक्राउ गरेपछि नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्मा, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेलगायत पत्रकार तथा सञ्चारकर्मी काठमाडौँ प्रहरी परिसर टेकु पुगेका थिए। प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठलाई पक्राउ गरिएको घटनाप्रति विभिन्न सञ्चारसम्बद्ध सङ्घ–संस्थाले विरोध जनाएका छन्।

पत्रकार सम्बद्ध संस्थाहरूले समाचारप्रति असहमति भए कानुनी तथा प्रेससम्बन्धी स्थापित संयन्त्रबाट समाधान खोजिनुपर्ने, तर पक्राउ र सञ्चारगृहमा छापामार्फत पत्रकारिता क्षेत्रमा डर र दबाबको वातावरण सिर्जना गर्न नहुने बताएका छन्।

यस घटनाले पत्रकार पक्राउ, सञ्चारगृहमा प्रहरी प्रवेश र प्रेस स्वतन्त्रताको सीमाबारे नयाँ बहस सुरु गराएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!