नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ तथा स्वास्थ्य नीति र स्वास्थ्य प्रणालीका विशेषज्ञ सगुन पौडेल नियुक्त भएका छन्। पौडेलले नेपालको स्वास्थ्य क्षेत्रमा १३ वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका छन्। उनले समुदायस्तरका स्वास्थ्य संस्थादेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा प्राविधिक र नेतृत्वदायी जिम्मेवारी सम्हालिसकेका छन्।
उनले विश्व स्वास्थ्य संगठन नेपाल, आरटीआई इन्टरनेसनल, अन्तर्राष्ट्रिय रेडक्रस, क्यानडियन रेडक्रस, यूएस फार्माकोपिया र क्राउन एजेन्ट्सलगायत संस्थामा विभिन्न प्राविधिक तथा नेतृत्वदायी भूमिकामा काम गरेका छन्। पौडेलको मुख्य कार्यक्षेत्र स्वास्थ्य प्रणाली सुदृढीकरण, स्वास्थ्य नीति तथा योजना, स्वास्थ्य क्षेत्रको वित्तीय व्यवस्थापन, स्वास्थ्य जनशक्ति विकास र कार्यान्वयन अनुसन्धान रहेको छ। शैक्षिक रूपमा उनले बेलायतस्थित लन्डन स्कुल अफ हाइजिन एन्ड ट्रपिकल मेडिसिन र लन्डन स्कुल अफ इकोनोमिक्सबाट स्वास्थ्य नीति, योजना तथा वित्तसम्बन्धी स्नातकोत्तर अध्ययन गरेका छन्।
त्यस्तै, उनले इन्डोनेसियाको योग्याकार्तास्थित गाड्जाह माडा विश्वविद्यालयको चिकित्सा, जनस्वास्थ्य तथा नर्सिङ संकायबाट सन् २०१९ मा जनस्वास्थ्यमा स्नातकोत्तर उपाधि हासिल गरेका छन्। उनले पोखरा विश्वविद्यालयबाट जनस्वास्थ्यमा स्नातक गरेका छन्।
नेपाल स्वास्थ्य व्यवसायी परिषद् स्वास्थ्य व्यवसायीको दर्ता, व्यावसायिक मापदण्ड तथा नियमनसँग सम्बन्धित महत्वपूर्ण नियामक निकाय हो। परिषद्को अध्यक्षका रूपमा पौडेलसमक्ष स्वास्थ्य व्यवसायको गुणस्तर र व्यावसायिक मापदण्डलाई प्रभावकारी बनाउने तथा स्वास्थ्य व्यवसायीको क्षमता विकास र नियमनलाई थप व्यवस्थित गर्ने जिम्मेवारी रहनेछ।
स्वास्थ्य प्रणाली, नीति, वित्तीय व्यवस्थापन र जनशक्ति विकासमा पौडेलको अनुभव परिषद्को नियामकीय तथा व्यावसायिक जिम्मेवारीसँग जोडिने देखिन्छ।
प्रतिक्रिया दिनुहोस