रसुवामा आएको बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ। प्रधानमन्त्री बालेन शाहले नेपाली सेना, सशस्त्र प्रहरी बल (एपीएफ) र नेपाल प्रहरीलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको जानकारी दिएका छन्।
प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि अन्य जिल्लाबाट समेत थप सुरक्षाकर्मी तथा जनशक्ति पठाइएको छ। विपद् व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाउँदै मेडिकल टोली, नेपाल स्काउट, रेडक्रस लगायतका निकायसँग समन्वय गरी राहत तथा उद्धार कार्य अघि बढाइएको छ।
प्रभावित क्षेत्रमा अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढाइएको प्रधानमन्त्री शाहले बताएका छन्। बाढीको जोखिम रहेका तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई निर्देशन दिइएको छ।
स्थानीय बासिन्दालाई एसएमएस तथा फोनमार्फत जोखिमबारे जानकारी गराउँदै सुरक्षित स्थानमा जान आग्रह गरिएको छ। सम्भावित उद्धार तथा राहतका लागि हेलिकप्टरहरू प्रभावित क्षेत्रतर्फ परिचालन गरिएको र निजी हेलिकप्टर कम्पनीहरूलाई समेत तयारी अवस्थामा रहन भनिएको प्रधानमन्त्री शाहले बताएका छन्।
आगामी आवश्यक कदमबारे निर्णय गर्न उच्चस्तरीय बैठकसमेत बोलाइएको छ। प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आग्रह गर्दै आफन्तसँग सम्पर्क हुन नसके सरकारी निकायबाट जारी हुने उद्धार तथा राहतसम्बन्धी आधिकारिक सूचनामा भर पर्न आग्रह गरेका छन्।
राहत तथा उद्धारसम्बन्धी समन्वयका लागि १२३४, १०० र ११११ नम्बरमा सम्पर्क गर्न सकिने जनाइएको छ।
प्रतिक्रिया दिनुहोस