नेपाल–चीन सीमा नजिक रसुवागढी क्षेत्रको भोटेकोशी नदीमा आएको भीषण बाढी र पहिरोपछि तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरणअनुसार हालसम्म विभिन्न जिल्लाबाट १६५ जनाको शव फेला परेको छ भने ८५६ जना अझै सम्पर्कविहीन छन्।
फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा ६४ जनाको शव भेटिएको छ। यस्तै धादिङमा २७, नवलपरासी पूर्वमा २६, गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९, नवलपरासी पश्चिममा ५ र रसुवामा २ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
बाढीपछि सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मीसमेत रहेका छन्। विवरणअनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २८ र सशस्त्र प्रहरीका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। यस्तै विदेशी तथा नेपाली पर्यटक गरी ५७९ जना पनि सम्पर्कविहीन रहेको विवरणमा उल्लेख छ। घटनामा ७३ जना घाइते भएका छन्।
३५ मोटरेबल पुल र ४० किलोमिटर सडक ध्वस्त
विनाशकारी बाढीले सडक तथा पुललगायतका पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। प्रारम्भिक विवरणअनुसार ३५ वटा मोटरेबल पुल, ४५ वटा झोलुङ्गे पुल तथा करिब ४० किलोमिटर पक्की सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।
प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेको छ। हालसम्म नेपाली सेना र निजी तथा व्यावसायिक हेलिकप्टरमार्फत २३९ जनाको हवाइ उद्धार गरिएको छ। खोज तथा उद्धार र राहत वितरणका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका गरी ७ हजार ४१५ भन्दा बढी सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा
यसैबीच, सरकारले बाढी प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि ‘विपद् सङ्कटग्रस्त क्षेत्र’ घोषणा गरेको छ। भदौ १० गते बसेको मन्त्रिपरिषद् बैठकले प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापना कार्यलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको हो।
सरकारले घाइतेहरूको निःशुल्क स्वास्थ्य उपचार गर्ने तथा मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै, बाढीबाट अवरुद्ध भएका सडक, विद्युत् र दूरसञ्चार सेवा यथाशीघ्र पुनःसञ्चालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले मृतक, घाइते र सम्पर्कविहीनको संख्या तथा भौतिक क्षतिको विवरण थप परिवर्तन हुन सक्ने प्राधिकरणले जनाएको छ।
प्रतिक्रिया दिनुहोस