विपद्को संवेदनशील अवस्थामा मृतकको शवबाट सुनको मुन्द्रा निकाल्ने कार्यमा संलग्न रहेको आरोपमा चितवन प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीले बगाएर नारायणी नदी किनारसम्म पुर्याएको मृतकको शवबाट कानको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान थालेको थियो। भिडियोका आधारमा अनुसन्धान गर्दा घटनामा संलग्न देखिएका दुई जनालाई बिहीबार भरतपुर महानगरपालिका–१ स्थित पोखरा बसपार्क नजिकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
पक्राउ पर्नेमा नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–१ घर भई हाल भरतपुर महानगरपालिका–१ लीलाचोकस्थित मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चाँदबेला नगरपालिका–५ घर भई हाल भरतपुर महानगरपालिका–२ पोखरा बसपार्कस्थित सुपारी टोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरी रहेका छन्।
बुधबार आएको भीषण बाढीले बगाएर ल्याएको शवबाट गरगहना निकालिरहेको भिडियो सार्वजनिक भएपछि घटनाले व्यापक आलोचना निम्त्याएको थियो। त्यसपछि चितवन प्रहरीले भिडियोमा देखिएका व्यक्तिको पहिचान गरी उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवनमा राखिएको प्रहरीले जनाएको छ। चितवन प्रहरी प्रमुख एसपी रामेश्वर पौडेलले विपद्का बेला पीडित तथा मृतकप्रति गरिने कुनै पनि प्रकारको लुटपाट र अमानवीय गतिविधि सह्य नहुने बताएका छन्।
उनले यस्ता गतिविधिमा संलग्न जोसुकैलाई पनि अनुसन्धान गरी कानुनी दायरामा ल्याइने स्पष्ट पारे। भोटेकोशी बाढीपछि नारायणी तथा त्रिशूली नदी किनारमा भेटिएका शवको पहिचान र व्यवस्थापनको काम भइरहेका बेला मृतकको शरीरबाट गरगहना निकाल्ने जस्ता घटनाले पीडित परिवारलाई थप पीडा पुर्याउने भन्दै प्रहरीले यस्ता गतिविधिमाथि निगरानी बढाएको जनाएको छ।
चितवन प्रहरीले विपद्को समयमा लुटपाट, चोरी वा अन्य अमानवीय गतिविधि भएको जानकारी वा प्रमाण फेला परे तत्काल प्रहरीलाई सूचना दिनसमेत आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस