भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सरकारले आह्वान गरेको सहयोग अभियानमा ३६ घण्टामै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ।
अर्थ मन्त्रालयका अनुसार बुधबार मध्याह्नदेखि बिहीबार राति १२ बजेसम्म विभिन्न १० वाणिज्य बैंकमा रहेका कोषका खातामा १ अर्ब ९१ करोड ८६ लाख ५० हजार ९११ रुपैयाँ सहयोग जम्मा भएको हो। भदौ १० गते नेपाल–चीन सीमाबाट बग्ने भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पुर्याएपछि सरकारले प्रभावित क्षेत्रलाई ‘विपद् संकटग्रस्त क्षेत्र’ घोषणा गरेको थियो। त्यससँगै राहत तथा उद्धारका लागि व्यक्ति तथा संस्थाबाट सहयोग जुट्न थालेको हो।
सरकारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने कार्यको समन्वयका लागि अर्थ मन्त्रालयलाई फोकल मन्त्रालय तोकेको छ। संस्थागततर्फ १ करोड रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताको रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले स्वयं स्वीकार गरिरहेका छन्।
व्यक्तिगततर्फको नगद सहयोग भने दाताले अर्थ मन्त्रालयमै पुगेर उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ। नयाँ सहयोगसहित कोषमा रहेको कुल बचत रकम ४ अर्ब ९ करोड ११ लाख ६० हजार रुपैयाँ पुगेको छ। यसअघि कोषमा २ अर्ब १७ करोड २५ लाख ९ हजार ७५९ रुपैयाँ बचत रहेको थियो।
यसैबीच बिहीबार मात्रै ६ घण्टाको अवधिमा निजी क्षेत्रका दाताबाट अर्थ मन्त्रालयमार्फत २७ करोड ३३ लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। अर्थ मन्त्रालयका अनुसार कोषमा संकलित उक्त रकममा विभिन्न मित्रराष्ट्रले घोषणा गरेका सहयोग रकम भने समावेश गरिएको छैन। सरकारले संकलित रकम विपद् प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा परिचालन गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस