२०८३, आश्विन ९ गते

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा फेरि वर्षाको जोखिम, नदी किनार नजान आग्रह

भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा अझै खोज, उद्धार र राहतको काम जारी रहेका बेला वर्षा तथा माथिल्लो क्षेत्रमा बनेको ताल फुट्ने सम्भावनाले जोखिम थपिएको छ।

शनिवार , भाद्र १३, २०८३

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनः वर्षाको सम्भावना देखिएपछि जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। भोटेकोशी र त्रिशूली नदीमा हाल जलसतह सामान्य रहे पनि माथिल्लो क्षेत्रमा नदी थुनिएर बनेको ताल फुट्न सक्ने जोखिम कायमै रहेकाले नदी किनारमा आवतजावत नगर्न महाशाखाले आग्रह गरेको हो।

तालको आकार बढ्दै, फुट्ने जोखिम कायमै

चीन सरकारबाट प्राप्त सूचना तथा भू–उपग्रह तस्बिरको प्रारम्भिक विश्लेषणअनुसार भदौ १० गते भोटेकोशीमा बाढी आएको क्षेत्रको माथिल्लो भागमा नदी थुनिएर बनेको तालको आकार बढ्दै गएको देखिएको महाशाखाले जनाएको छ। उक्त ताल फुटेमा तल्लो तटीय क्षेत्रमा पुनः ठूलो बाढी आउन सक्ने जोखिम रहेकाले निरन्तर निगरानी आवश्यक रहेको महाशाखाको भनाइ छ।

यसैलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म भोटेकोशीको तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दा, यात्रु तथा खोज तथा उद्धारमा खटिएका व्यक्तिलाई नदी किनार र अन्य जोखिमयुक्त क्षेत्रबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ।

आज मध्यम वर्षा, एक–दुई स्थानमा भारी हुनसक्ने

महाशाखाका मौसमविद् हरिप्रसाद दाहालका अनुसार भोटेकोशी बाढी प्रभावित रसुवा क्षेत्रमा आज अधिकांश स्थानमा मध्यम वर्षाको सम्भावना छ। केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले खोज तथा उद्धार अभियानसमेत प्रभावित हुन सक्ने उनले बताए।

“एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने भएकाले खोज तथा उद्धार प्रभावित हुनसक्छ। त्यसैले सतर्कता आवश्यक छ,” दाहालले भने।

हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै स्थान तथा मधेस र कोशी प्रदेशका केही तराई क्षेत्रमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, कर्णालीको पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

राति पनि भारी वर्षाको सम्भावना

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रका धेरै स्थान तथा अन्य केही हिमाली र पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा केही स्थानमा वर्षा हुन सक्नेछ। रातिको समयमा कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा केही स्थानमा भारी तथा एक–दुई स्थानमा धेरै भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!