२०८३, आश्विन ९ गते

पोखरामा नालीको भेलले बगाउँदा आमा–छोरीको मृत्यु

शनिवार , भाद्र १३, २०८३

पोखरामा सडकको नालीबाट आएको तीव्र भेलले बगाउँदा एकै परिवारका आमा र दुई वर्षीया छोरीको मृत्यु भएको छ। पोखरा महानगरपालिका–पुरानो विमानस्थल नजिकैको मेयर हर्क चोकमा शुक्रबार भएको घटनामा २६ वर्षीया सुष्मा दाहाल र उनकी दुई वर्षीया छोरी रानीका दाहालको मृत्यु भएको हो।

शुक्रबार दिउँसो बिरौटाबाट पृथ्वीचोकतर्फ जाँदै गरेको ग १३ प २८५९ नम्बरको स्कुटरबाट ओर्लने क्रममा आमा–छोरीलाई सडक किनारको नालीमा बगिरहेको तीव्र भेलले बगाएको प्रहरीले जनाएको छ। स्कुटर सुष्माका श्रीमान् ३० वर्षीय कमल दाहालले चलाएका थिए।

वर्षा अत्यधिक भएपछि कमलले स्कुटर सडक किनारमा रोकेर झर्न खोजेका थिए। सोही क्रममा नालीमा बगिरहेको भेलले पहिले छोरी रानीकालाई बगाएको थियो। छोरीलाई समाउने क्रममा सुष्मासमेत भेलमा परेकी थिइन्।

घटनाको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमान्डमा २१ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी र स्थानीयवासीको सक्रियतामा आमा–छोरी दुवैलाई दिउँसो ४ बजेर २३ मिनेटमा बिरौटास्थित नहरको कुलोबाट उद्धार गरिएको थियो।

उद्धारपछि दुवैलाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा सुष्माको शुक्रबार राति ९ बजेर ४० मिनेटमा मृत्यु भएको हो। उनकी छोरी रानीकाको शनिबार बिहान १ बजेर २१ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

दुवैको शव अहिले गण्डकी मेडिकल कलेजमै राखिएको छ। शरीरमा बाहिरी चोट नदेखिए पनि अस्पताल ल्याउँदा दुवैको अवस्था गम्भीर रहेको चिकित्सकले बताएका थिए। उनीहरूले धेरै पानी खाएका कारण अवस्था गम्भीर बनेको जनाइएको छ।

उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार सडकको नालीमा पानीको बहाव अत्यधिक थियो। स्कुटरबाट झर्न खोज्दा भेलले उनीहरूको सन्तुलन बिगारेपछि नालीमा खसालेर बगाएको थियो। पोखरामा वर्षाका समयमा सडकका नालीमा पानीको बहाव बढ्ने गरेको छ। यसअघि पनि पोखराका विभिन्न स्थानमा नालीको भेलले बगाउँदा मानिसको ज्यान जाने गरेका घटना छन्।

मृतक आमा–छोरी पोखरा महानगरपालिका–३० ढुंगेपाटनमा बस्दै आएका थिए। प्रहरीले वर्षाको समयमा पैदल हिँड्दा तथा सवारीसाधन रोक्दा सडक किनार, नाली र तीव्र बहाव भएका क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!