रसुवाको भोटेकोशी हुँदै आएको भीषण बाढीबाट प्रभावित नुवाकोटको बेत्रावतीस्थित एक घरभित्रबाट २४ वटा शव फेला परेका छन्।
विदुर नगरपालिका–१० स्थित बेत्रावतीमा रहेको उक्त घरबाट सोमबार २४ वटा शव फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी उपरीक्षक (एसपी) विपिन रेग्मीले जानकारी दिए।
उनका अनुसार घरभित्र अझै खोजी कार्य जारी रहेकाले मृतकको संख्या थप बढ्न सक्ने देखिएको छ। ‘बेत्रावतीको एउटा घरमा २४ वटा शव फेला परेको छ। अरू खोज्दैछौँ। आजसम्म कति वटा छन् भन्ने यकिन विवरण आउँछ,’ उनले भने।
एकै घरभित्र ठूलो संख्यामा शव भेटिएपछि उक्त घर कसको हो र त्यहाँ यति धेरै मानिस कसरी पुगे भन्ने विषयमा प्रहरीले अनुसन्धान तथा विवरण संकलन गरिरहेको छ।
एसपी रेग्मीका अनुसार उक्त घर होटल वा गेस्ट हाउसजस्तो देखिए पनि यसको यकिन पहिचान भइसकेको छैन। ‘घर कसको हो भन्ने बुझ्न पाएका छैनौँ। वडाध्यक्षज्यूको सम्पर्क हुन सकेको छैन। होटल वा गेस्ट हाउस जस्तो पनि देखिन्छ तर यकिन हुन सकेको छैन। कन्फर्म गर्ने प्रयास गर्दैछौँ,’ उनले भने।
भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। सोमबारसम्म बाढीबाट ९ सयभन्दा बढीको शव फेला परिसकेको छ भने हजारौँ मानिस अझै सम्पर्कविहीन छन्।
बाढी प्रभावित क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहितका सुरक्षा निकायले निरन्तर खोजी तथा उद्धार कार्य जारी राखेका छन्।
प्रतिक्रिया दिनुहोस