रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहले सोमबार साँझ सामाजिक सञ्जालमार्फत दिएको जानकारीअनुसार सोमबार दिउँसोसम्म नौवटा वाणिज्य बैंकका खातामा ५ अर्ब ८७ करोड ९२ लाख २३ हजार ८४२ रुपैयाँ जम्मा भएको छ ।
यस्तै, हिमालयन बैंक र लक्ष्मी बैंकका खातामा ३१ लाख ९३ हजार २३८ अमेरिकी डलर सहयोग प्राप्त भएको प्रधानमन्त्री शाहले बताएका छन् । नेपाल राष्ट्र बैंकको सोमबारको विनिमय दरअनुसार उक्त अमेरिकी डलर करिब ४८ करोड ६३ लाख ६२ हजार रुपैयाँ बराबर हुन्छ ।
नेपाली रुपैयाँ र अमेरिकी डलरमा प्राप्त सहयोग रकमलाई जोड्दा राहत कोषमा कुल ६ अर्ब ३६ करोड ५५ लाख ८५ हजार रुपैयाँभन्दा बढी जम्मा भएको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।
भोटेकोशीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि सरकारले उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग आह्वान गरेको थियो । त्यसपछि निजी क्षेत्र, बैंक तथा वित्तीय संस्था, विभिन्न संघसंस्था, विदेशी सरकार तथा सर्वसाधारणबाट कोषमा उल्लेख्य रकम जम्मा हुँदै आएको छ ।
सरकारले प्राप्त सहयोग रकमलाई बाढी तथा पहिरो प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा परिचालन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस