२०८३, आश्विन ९ गते

तातोपानी नाका पनि अनिश्चितकालका लागि बन्द, नेपालका लागि कोरला नाका मात्रै विकल्प

मंगलवार , भाद्र १६, २०८३

बाढीपहिरोको जोखिम बढेको भन्दै चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ।

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी नाकाको टिमुरे बजार, भन्सार तथा अध्यागमन कार्यालयसहितका संरचना ध्वस्त भएको अवस्थामा चीनले तातोपानी नाकासमेत बन्द गरेको हो।

ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी निरौलाका अनुसार लिपिङ क्षेत्रमा पहिरोको जोखिम स्थिर नभएसम्म चिनियाँ पक्षले तातोपानी नाकाबाट व्यापारिक गतिविधि सुचारु गर्ने सम्भावना कम छ। यद्यपि, यात्रुहरूको आवतजावत भने जारी रहनेछ।

रसुवागढी र तातोपानी दुवै प्रमुख व्यापारिक नाका बन्द भएपछि नेपाल–चीन व्यापारका लागि अहिले कोरला नाका मात्रै सञ्चालनमा रहेको प्रमुख विकल्प बनेको छ।

भोटेकोशीमा आएको बाढी तथा पहिरोले नेपालतर्फका सडक, पुल, भन्सार तथा अन्य व्यापारिक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। दुई प्रमुख नाका बन्द हुँदा चीनबाट नेपालमा हुने आयात तथा सीमापार व्यापारमा थप प्रभाव पर्न सक्ने देखिएको छ।

यसले विशेषगरी दसैँ–तिहारजस्ता ठूला चाडपर्व नजिकिँदै गर्दा चीनबाट हुने सामानको आयात तथा आपूर्ति व्यवस्थामा चुनौती थपिन सक्ने जोखिम बढाएको छ। 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!