रसुवा तथा आसपासका जिल्लामा गत बुधबार आएको विनाशकारी बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या १ हजार ५० पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै अझै ३ हजार ९१६ जना सम्पर्कविहीन रहेको जनाएको छ।
प्राधिकरणका अनुसार बाढी तथा पहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति चितवनमा भएको छ। चितवनमा ३२१ जना, नवलपरासी पूर्वमा २१६ जना, नवलपरासी पश्चिममा १७० जना र नुवाकोटमा १४२ जनाको शव फेला परेको छ।
त्यस्तै, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव भेटिएको प्राधिकरणले जनाएको छ।
३ हजार ९१६ जना अझै सम्पर्कविहीन
बाढी र पहिरोपछि विभिन्न जिल्लाबाट प्राप्त विवरणअनुसार ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन्। नुवाकोटको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रबाट करिब १ हजार ५५८ जना र रसुवाबाट करिब ८६५ जना बेपत्ता भएको विवरण प्राप्त भएको छ।
त्यस्तै, विभिन्न जलविद्युत् आयोजनाका करिब ६३९ जना, ५८३ विदेशी नागरिक र उनीहरूसँगै घुम्न गएका १६४ नेपाली नागरिक सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। सम्पर्कविहीन हुनेमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरी बलका १३, भन्सार कार्यालयका १५, अध्यागमन र क्वारेन्टाइन कार्यालयका ३–३ तथा लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना कर्मचारी समेत छन्।
२९२ जना घाइते, १८२ जना डिस्चार्ज
बाढी तथा पहिरोमा परी हालसम्म २९२ जना घाइते भएका छन्। घाइतेमध्ये १८२ जना विभिन्न अस्पतालबाट उपचारपछि डिस्चार्ज भइसकेका छन्। प्रभावित क्षेत्रमा नेपाली सेनाले २ हजार ९१५ जना र सशस्त्र प्रहरी बलले १ हजार १५५ जनाको स्वास्थ्य उपचार गरेको प्राधिकरणले जनाएको छ।
करिब १२ हजार जनाको उद्धार
बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्र पारिएको छ। हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ। खोजी तथा उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलका गरी २१ हजार ३१४ सुरक्षाकर्मी परिचालन गरिएको छ।
यसमा नेपाल प्रहरीका ७ हजार ९१२, नेपाली सेनाका ९ हजार १९९ र सशस्त्र प्रहरी बलका ४ हजार २०३ जना सुरक्षाकर्मी खटिएका छन्।
सेनाले ६१० हवाई उडानबाट ४ हजारभन्दा बढी नेपालीको उद्धार गर्यो
नेपाली सेनाले मात्रै ६१० पटक हवाई उडान गरी २७३ विदेशी र ४ हजार ९१ नेपाली नागरिकको उद्धार गरेको जनाएको छ। भदौ १६ गते मात्रै सेनाले ८४ हवाई उडान गरेको छ भने निजी क्षेत्रबाट काठमाडौंका लागि २९ उडान भएका छन्।
उद्धार गरिएका ३ हजार ४५३ जनालाई नुवाकोट, धादिङ, रसुवा र काठमाडौंका विभिन्न होल्डिङ सेन्टरमा राखिएको छ।
राहत र इन्धन आपूर्तिलाई प्राथमिकता
प्रभावित क्षेत्रमा खाद्यान्न, राहत सामग्री तथा इन्धन आपूर्तिलाई प्राथमिकतामा राखिएको छ। हालसम्म ३७ वटा ट्रक, ३७ वटा बोलेरो र ९ वटा हेलिकप्टर उडानमार्फत राहत सामग्री पठाइएको छ। भदौ १६ गते थप १४ वटा गाडी परिचालन गरिएको प्राधिकरणले जनाएको छ।
सशस्त्र प्रहरी बलले पनि ७७ हवाई उडानमार्फत राहत सामग्री ढुवानी गरेको छ। नेपाल सरकारले रसुवा र नुवाकोटलाई १–१ करोड रुपैयाँ तथा धादिङलाई ५० लाख रुपैयाँ नगद राहत उपलब्ध गराएको छ।
त्यस्तै, प्रभावित १५ वटा स्थानीय तहका लागि यसअघि ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएकोमा भदौ १६ गते थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ। प्रभावित क्षेत्रमा ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको छ।
नेपाल टेलिकमका सबै क्षतिग्रस्त टावर सञ्चालनमा
सञ्चार सेवातर्फ नेपाल टेलिकमका क्षति पुगेका ११० वटै टावर सञ्चालनमा आएका छन्। त्यस्तै, एनसेलका क्षति पुगेका ७८ टावरमध्ये ७५ वटा मर्मत गरी सेवा सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार सम्पर्कविहीन विदेशी नागरिक, विदेशमा रहेका नेपाली, उपचाररत व्यक्ति तथा हेलिकप्टरबाट उद्धार गरिएका व्यक्तिको विवरण प्राधिकरणको सामाजिक सञ्जाल र वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
विनाशकारी बाढी तथा पहिरोबाट रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा सडक, पुल, जलविद्युत् आयोजना, निजी आवास तथा अन्य भौतिक संरचनामा समेत ठूलो क्षति पुगेको छ। बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य भने अझै जारी छ।
प्रतिक्रिया दिनुहोस