साताको कारोबारको तेस्रो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.४४ अंकले बढेर २ हजार ५३८.११ विन्दुमा पुगेको छ।
मंगलबार सामान्य अंकले बढेको बजारले बुधबार पनि वृद्धिको क्रमलाई निरन्तरता दिएको हो। यस दिन सेन्सेटिभ इन्डेक्स ३.०२ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.१७ अंकले उकालो लागेको छ।
कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। बुधबार ३५४ वटा कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता शेयर ३९ हजार ६७३ पटकको कारोबारबाट २ अर्ब ९४ करोड २७ लाख ८१ हजार रुपैयाँमा खरिद–बिक्री भएका छन्।
११ उपसमूह बढे
बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूह घटेका छन्। यस दिन जलविद्युत् उपसमूह सर्वाधिक ०.९५ प्रतिशतले बढेको छ। म्युचुअल फन्ड र निर्जीवन बीमा उपसमूहको परिसूचक भने सामान्य घटेको छ।
उपकार लघुवित्तको शेयरमूल्य सर्वाधिक बढ्यो
बुधबार उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ। त्यस्तै, माथिल्लो मैलुङ खोला जलविद्युत्को शेयरमूल्य १०.२३ प्रतिशत तथा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि १० प्रतिशतभन्दा बढीले बढेको छ।
यस दिन एनएमबी इनर्जी बण्ड ४ प्रतिशत २०९३/९४ को मूल्य सर्वाधिक ५.८१ प्रतिशतले घटेको छ।
सानिमा मिडिल तमोरको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा बुधबार सानिमा मिडिल तमोर हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको १४ करोड १७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १२ करोड ६४ लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावरको १२ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ।
समग्रमा, बुधबारको कारोबारमा जलविद्युत् तथा लघुवित्त कम्पनीका शेयरमा देखिएको आकर्षणले बजार परिसूचकलाई थप माथि लैजान सहयोग गरेको छ।
प्रतिक्रिया दिनुहोस