सरकारले १४ सहसचिव र ९ उपसचिव गरी २३ जना उच्चपदस्थ प्रशासनिक अधिकारीको सरुवा तथा पदस्थापन गरेको छ। शुक्रबार भएको मन्त्रीस्तरीय निर्णयबाट झापा, सुर्खेत, बारा, गोरखा, रौतहट, दोलखा र पर्वतसहित विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिएका छन्।
निर्णयअनुसार झापाको प्रमुख जिल्ला अधिकारीमा श्रवणकुमार पोखरेललाई पठाइएको छ। त्यहाँ कार्यरत शिवराम गेलाललाई गृह मन्त्रालयमा तानिएको छ। त्यस्तै महेन्द्रकुमार सापकोटालाई सुर्खेत, खडानन्द अधिकारीलाई बारा, धर्मेन्द्रकुमार मिश्रलाई गोरखा, रेखा कँडेललाई दोलखा, गंगाबहादुर क्षेत्रीलाई पर्वत र लक्ष्मीप्रसाद पौडेललाई रौतहटको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ।
सहसचिव ऋषिराम तिवारीलाई लागूऔषध नियन्त्रण विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ। यसअघि रौतहटका प्रमुख जिल्ला अधिकारी रहेका दिनेशसागर भुसाल, गोरखाका तुलसीबहादुर श्रेष्ठ र दोलखाका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालय तथा मातहतका निकायमा फिर्ता बोलाइएको छ।
उपसचिवतर्फ पनि विभिन्न जिल्लाका प्रशासनिक नेतृत्वमा फेरबदल गरिएको छ। भोजपुरमा कुलेश्वर अर्याल, जाजरकोटमा नवराज बराल, खोटाङमा महेशकुमार गुरुङ, सल्यानमा बन्दना केसी र म्याग्दीमा गणेश गैरेलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।
यसैगरी बाँकेको सहायक प्रमुख जिल्ला अधिकारीमा अमरबहादुर वली र डडेल्धुराको प्रमुख जिल्ला अधिकारीमा बेदराज फुयाँललाई जिम्मेवारी दिइएको छ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा हुने यस्ता फेरबदलले स्थानीय प्रशासनको कार्यसम्पादन, शान्ति–सुरक्षा व्यवस्थापन, विपद् प्रतिकार्य तथा सेवा प्रवाहमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले नयाँ जिम्मेवारी पाएका अधिकारीहरूको कार्यक्षमता र समन्वयलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।
प्रतिक्रिया दिनुहोस