दक्षिण कोरियाले निर्यातमा यस वर्ष तीव्र वृद्धि कायम राख्दै नयाँ कीर्तिमान बनाएको छ। शनिबारसम्म देशको कुल निर्यात ७०९.४ अर्ब अमेरिकी डलर पुगेको छ, जुन गत वर्ष कायम भएको ७०९.३ अर्ब डलरको वार्षिक निर्यात रेकर्डभन्दा बढी हो।
दक्षिण कोरियाको व्यापार, उद्योग तथा स्रोत मन्त्रालय र कोरिया भन्सार सेवाले सार्वजनिक गरेको तथ्यांकअनुसार वार्षिक निर्यातमा अझै तीन महिना बाँकी रहँदै गत वर्षको सम्पूर्ण निर्यातलाई उछिनिएको हो।
निर्यातमा निरन्तर वृद्धि र अन्तर्राष्ट्रिय बजारमा बलियो माग कायम रहेकाले दक्षिण कोरिया यस वर्ष १ ट्रिलियन अमेरिकी डलरको वार्षिक निर्यात हासिल गर्ने लक्ष्यतर्फ अघि बढेको छ। कोरिया भन्सार सेवाको प्रतिवेदन उद्धृत गर्दै राष्ट्रपतिले निर्यातको यही गति कायम रहेमा डिसेम्बरको सुरुआती चरणमै १ ट्रिलियन डलरको आँकडा पार गर्न सकिने बताएका छन्।
विश्व अर्थतन्त्रमा अनिश्चितता, अन्तर्राष्ट्रिय व्यापारका चुनौती तथा मध्यपूर्वमा जारी द्वन्द्व र तनावजस्ता प्रतिकूल परिस्थितिका बाबजुद दक्षिण कोरियाको निर्यातमा भने उल्लेखनीय वृद्धि भइरहेको छ।
यस वृद्धिको प्रमुख आधारमध्ये सेमिकन्डक्टर अर्थात् चिप उद्योग रहेको छ। विश्व बजारमा दक्षिण कोरियाली चिप तथा विद्युतीय सामग्रीको माग बलियो रहेकाले समग्र निर्यात वृद्धिमा यस क्षेत्रले महत्वपूर्ण योगदान पुर्याएको छ।
दक्षिण कोरियाले यस वर्ष १ ट्रिलियन डलरको वार्षिक निर्यात हासिल गर्न सकेमा त्यो देशको व्यापारिक इतिहासकै महत्वपूर्ण उपलब्धि बन्नेछ। निर्यात वृद्धिको वर्तमान गति आगामी महिनामा पनि कायम रहे यसले दक्षिण कोरियाको अर्थतन्त्रलाई थप बलियो बनाउनुका साथै विश्व व्यापारमा उसको स्थान अझ सुदृढ गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस