बाढी प्रभावित क्षेत्रमा हैजा तथा पानीजन्य रोगको जोखिम बढेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले हैजाविरुद्धको खोप प्रभावित जिल्लातर्फ पठाउन थालेको छ।
स्वास्थ्य मन्त्रालयले आज नुवाकोटका लागि ८० हजार ५२३ डोज ९२३ (बक्स) हैजाविरुद्धको खोप पठाएको जनाएको छ। खोपसँगै सुरक्षित भण्डारण तथा ढुवानीका लागि १० थान फ्रिज–फ्री भ्याक्सिन क्यारियर, ०.६ लिटर क्षमताका २२० थान आइस प्याक र ८ थान फ्रिज ट्याग समेत पठाइएको छ।
यसअघि रसुवामा आइतबार हेलिकप्टरमार्फत २१ हजार डोज हैजाविरुद्धको खोप पठाइसकिएको मन्त्रालयले जनाएको छ। रसुवामा यही बिहीबारदेखि हैजाविरुद्धको खोप अभियान सञ्चालन गर्ने तयारी गरिएको छ।
बाढीका कारण खानेपानी तथा सरसफाइका संरचना प्रभावित हुँदा हैजा, झाडापखाला लगायतका पानीजन्य रोग फैलिने जोखिम बढेको छ। यही जोखिमलाई ध्यानमा राख्दै प्रभावित क्षेत्रमा संक्रमण रोकथाम तथा नियन्त्रणलाई प्राथमिकतामा राखेर खोप अभियान सञ्चालन गर्न लागिएको मन्त्रालयले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा दूषित पानी तथा अस्वच्छ वातावरणका कारण स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले खोपसँगै सुरक्षित खानेपानी, व्यक्तिगत सरसफाइ र वातावरणीय स्वच्छतामा विशेष ध्यान दिनुपर्ने स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
प्रतिक्रिया दिनुहोस