२०८३, आश्विन ९ गते

जेनजी परिवारले राखेको आशालाई निराशामा बदल्न दिँदैनौँः गृहमन्त्री गुरुङ

मंगलवार , भाद्र २३, २०८३

गृहमन्त्री सुधन गुरुङले जेनजी आन्दोलनका शहीद तथा घाइते परिवारले सरकारसँग ठूलो आशा राखेको भन्दै आफूहरूलाई प्राप्त विश्वासलाई निराशामा परिणत हुन नदिने बताएका छन् । 

मंगलबार जेनजी शहीद परिवार कल्याणकारी समाज र घाइते जेनजी नेपालको संयुक्त आयोजनामा भएको जेनजी स्मृति दिवस कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले आन्दोलनका क्रममा घाइते तथा शहीद भएका जेनजी युवाहरूको सम्झना अझै पनि आफूलाई भावुक बनाउने बताए । 

उनले आन्दोलनका क्रममा रगताम्य अवस्थामा रहेका घाइतेलाई अस्पताल पुर्याएको र शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको क्षण अझै स्मरणमा रहेको बताए ।

उनले भने, ‘आज ताली चाहिएको छैन, आज हामीलाई आशा चाहिएको छ । जसरी तपाईँ–हामी मिलेर गत भदौ २३ गते आन्दोलन गर्‍यौँ । यही ठाउँमा बसेर हामीले लड्दै गर्दाखेरी कति भाइहरूलाई उठायौँ, रगतै–रगत भएका भाइबहिनीहरूलाई अस्पताल पुर्‍याएको स्मरण छ । अझै पनि त्यो रगत मेरो हातमा लागेको रगत तातै महसुस हुन्छ । ती शहीदहरूलाई काँधमा बोकेर पशुपति लैजाँदाको सम्झिँदा अझै पनि यो काँध भारी भइरहन्छ ।’

गुरुङले घाइते जेनजी युवाहरूले आफूबाट ठूलो अपेक्षा राखेको भन्दै उनीहरूको विश्वास पूरा गर्न आफूलाई निरन्तर दबाब महसुस हुने बताए । सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरिरहेको उनको भनाइ छ ।

‘भाइहरू मकहाँ आउनुहुन्छ आशाका सा । कोही हातविना, कोही खुट्टाविना आउनुहुन्छ । देशमा केही हुन्छ, हाम्रै मन्त्री छन् भनी जसरी आशाका साथ मलाई हेर्नुहुन्छ त्यसैले सुत्न पनि डर लाग्छ । कुनै मेरो कुनै कमजोरी पो भइहाल्ने हो कि, एकसय दिनुपर्नेमा ९९ मात्र पो हुने हो कि भन्ने पनि डर लाग्छ । उहाँहरूले जसरी विश्वास गर्नुभएको छ, आफूले सक्ने हरदम प्रयास गरिरहेको छु । म मात्र होइन नेपाल सरकार नै निरन्तर लागिरहेको छ,’ उनले भने । 

उनले वर्तमान परिवर्तन र देशले प्राप्त गरेको निकासको श्रेय जेनजी आन्दोलनका शहीद, घाइते तथा आन्दोलनमा सहभागी युवाहरूलाई नै जाने दाबी गरे । 

गृहमन्त्री गुरुङले जेनजी आन्दोलनलाई पुराना दलका नेताहरूले विभिन्न ढंगले व्याख्या गरेकोप्रति असन्तुष्टि जनाउँदै आन्दोलनको इतिहासलाई कसैले परिवर्तन गर्न नसक्ने बताए ।

‘अचम्म लाग्छ, पुराना दलका साथीहरूले आन्दोलनलाई विभिन्न तरिकाले व्याख्या गरिरहनु भएको छ । म उहाँहरू सबैजनालाई भन्न चाहन्छु, त्यो इतिहास हो र इतिहास कसैले फेरेर फेरिँदैन । इतिहासलाई फेर्ने कोसिस पनि नगर्नुस् ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!