विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ।
बुधबार ९भदौ २४० इनड्राइभ नेपालका प्रतिनिधिको उपस्थितिमा उक्त सहयोग रकम बराबरको बैंक चेक अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
कोषमा आर्थिक सहयोग गर्नुका साथै इनड्राइभले बाढी प्रभावित समुदायलाई प्रत्यक्ष राहतसमेत उपलब्ध गराएको जनाएको छ। कम्पनीका अनुसार नुवाकोटको विदुर नगरपालिका–९ का बाढी प्रभावित परिवारलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्ल्यांकेट, स्यानिटरी प्याडलगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ।
इनड्राइभका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ0 आर्सेन टोम्स्कीले आफ्नो सहयोगले तत्काल सहायता आवश्यक रहेका प्रभावित परिवारसम्म राहत पुर्याउन तथा पुनर्स्थापना र पुनर्निर्माणका प्रयासमा योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।
इनड्राइभले भोटेकोसी विपद्मा ज्यान गुमाएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, बेपत्ता आफन्तको खबरको प्रतीक्षामा रहेका परिवार तथा विपद्बाट प्रभावित सम्पूर्ण समुदायप्रति ऐक्यबद्धता जनाउँदै कठिन परिस्थितिमा आफूहरू उनीहरूको साथमा रहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस