भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहतमा सक्रिय रहँदै आएको योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपालले बाढी प्रभावित परिवारका लागि अस्थायी आवास निर्माण सुरु गरेको छ।
बाढी आएलगत्तै वाइसीएलले करिब ६०० स्वयंसेवक परिचालन गरी बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न तथा राहत सामग्री वितरणलगायतका काम गर्दै आएको थियो। अहिले राहत वितरणसँगै प्रभावित परिवारका लागि अस्थायी बसोबासको व्यवस्था गर्न आवास निर्माण अभियान सुरु गरिएको वाइसीएल अध्यक्ष पुष्प ओलीले बताए।
उनका अनुसार घर सरसफाइसमेत गर्न नसकेका तथा बसोबासको टुंगो नलागेका परिवारको समस्यालाई ध्यानमा राखेर अस्थायी आवास निर्माण थालिएको हो। धादिङ र नुवाकोटका प्रभावित क्षेत्रमा स्थानीयवासीको सुझावअनुसार घर सरसफाइ तथा अस्थायी आवास निर्माणको काम अघि बढाइएको उनले बताए।
पहिलो चरणमा नुवाकोटको बेलकोटगढी नगरपालिका–७ अन्तर्गत ठुलो खोला, लामोस्वती, रातमाटे र महादेवफाँटका बाढी प्रभावित परिवारका लागि १५० वटा अस्थायी आवास निर्माण गर्ने योजना रहेको ओलीले जानकारी दिए।
वाइसीएलले बाढी प्रभावित दुर्गम क्षेत्रमा आवश्यक राहत सामग्रीसमेत पुर्याउँदै आएको जनाएको छ। वैकल्पिक सडकमार्फत कठिन भूगोल र प्रतिकूल मौसमको सामना गर्दै रसुवामा ग्यास, पेट्रोल, सोलार लाइट, चामल, नुन, तेल, दाल, पावर बैंक, मोबाइल सेट, सेनिटरी प्याड तथा म्याट्रेसलगायतका सामग्री पुर्याइएको ओलीले बताए।
त्यस्तै, नुवाकोटको त्रिशूलीपारि सडक सञ्जाल विच्छेद भएपछि धादिङ हुँदै विदुर नगरपालिका–७, ८ र ९ का प्रभावित क्षेत्रमा सिरक, डसना, तन्ना, औषधि, स्टेसनरी सामग्री, म्याट्रेस, खाद्यान्न, चप्पल तथा बालबालिकाका कपडालगायतका सामग्री वितरण गरिएको उनले बताए।
ओलीका अनुसार बाढीपीडितलाई खाना पकाउने ग्यास तथा खाद्यान्न उपलब्ध गराउने काम पनि जारी छ। ग्यास अभाव, सीमित स्रोत–साधन तथा केन्द्र सरकारको अपेक्षित सहयोग नहुँदासमेत संगठनात्मक जनसम्पर्क र सहयोगी दाताको सहयोगमा राहत तथा पुनःस्थापनाको काम अघि बढाइएको उनको भनाइ छ।
उनले मातृ पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशन तथा स्थानीय आवश्यकता र सुझावका आधारमा बाढी प्रभावित क्षेत्रमा अभियान सञ्चालन भइरहेको बताए।
प्रतिक्रिया दिनुहोस