२०८३, आश्विन ९ गते

पोखरा–दुबई उडानको ढोका खुल्यो, असोज ७ देखि फ्लाइ दुबईको दैनिक उडान

सोमवार , भाद्र २९, २०८३

फ्लाइ दुबईले असोज ७ गतेदेखि पोखरा–दुबई नियमित उडान सुरु गर्ने भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो उडान साँझ ६ः१५ बजे अवतरण गर्नेछ भने ७ः१५ बजे यात्रुसहित दुबईका लागि प्रस्थान गर्ने तालिका तय गरिएको छ।

विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार फ्लाइ दुबईले यात्रुको चापअनुसार एयरबस ३१९ र एयरबस ३२० मार्फत उडान सञ्चालन गर्नेछ। एयरबस ३१९ मा १४० देखि १५० तथा एयरबस ३२० मा १६० देखि १८० यात्रु बोक्ने क्षमता रहेको छ। पोखराबाट दुबई फर्किँदा यात्रुसँगै कार्गोसमेत लैजाने तयारी गरिएको छ।

एक महिनाको घोषणा, २०२७ सम्म बुकिङ खुला

फ्लाइ दुबईले सुरुमा एक महिनाका लागि दैनिक एक उडान गर्ने घोषणा गरेको थियो। तर कम्पनीले सन् २०२७ मार्च २६ सम्मको बुकिङ खुला गरिसकेको जनाएको छ। यसले पोखरा–दुबई उडानलाई प्रारम्भिक परीक्षणभन्दा लामो अवधिसम्म निरन्तरता दिने संकेत गरेको छ।

दुबई हुँदै अन्य अन्तर्राष्ट्रिय गन्तव्यमा जाने यात्रुले फ्लाइ दुबई र Emirates बीचको कोडसेयर साझेदारीमार्फत एउटै टिकटबाट यात्रा गर्न सक्नेछन्। यसले पोखराबाट युरोप, अमेरिका, अष्ट्रेलिया, जापानलगायतका गन्तव्यमा जाने यात्रुलाई थप हवाई सम्पर्क उपलब्ध गराउनेछ।

पोखराबाट दोस्रो अन्तर्राष्ट्रिय व्यावसायिक सेवा

नेपाल नागरिक उड्डयन प्राधिकरणले गत जेठ २५ गते फ्लाइ दुबईलाई पोखरा–दुबई उडानको अनुमति दिएको थियो। यो उडान सुरु भएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्ने दोस्रो सेवा हुनेछ।

यसअघि Himalaya Airlinesले पोखरा–ल्हासा उडान सुरु गरेको थियो। तर यात्रु अभावका कारण उक्त सेवा हाल स्थगित अवस्थामा छ।

पर्यटन र व्यापारमा नयाँ अवसर

पोखरा–दुबई सिधा उडानले पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालमा थप मजबुत रूपमा जोड्ने अपेक्षा गरिएको छ। विशेषगरी गण्डकी प्रदेश तथा आसपासका क्षेत्रबाट वैदेशिक रोजगारी, व्यवसाय, पर्यटन तथा अन्य प्रयोजनका लागि दुबई र खाडी मुलुक जाने यात्रुलाई काठमाडौं पुग्नुपर्ने बाध्यता घट्नेछ।

त्यस्तै, दुबई हुँदै तेस्रो मुलुक जाने यात्रुका लागि पोखरा वैकल्पिक अन्तर्राष्ट्रिय प्रस्थान बिन्दु बन्न सक्नेछ। पर्यटन व्यवसायीहरूले नियमित उडानले पोखरामा विदेशी पर्यटक आगमन, होटल तथा पर्यटन व्यवसाय र स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।

पहिलो उडानलाई भव्य स्वागतको तयारी

पहिलो उडानका अवसरमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा वाटर क्याननमार्फत फ्लाइ दुबईको जहाज र यात्रुलाई स्वागत गर्ने तयारी गरिएको छ।

उडानलाई दीर्घकालीन र व्यावसायिक रूपमा सफल बनाउन सरकारी निकाय, पर्यटन व्यवसायी तथा निजी क्षेत्रले प्रवर्द्धन र बजारीकरणमा सहकार्य गर्ने जनाएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको लामो समयपछि अन्तर्राष्ट्रिय नियमित उडानले निरन्तरता पाउने सम्भावना बढेसँगै यसलाई विमानस्थलको व्यावसायिक भविष्यका लागि पनि महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!