एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र घरेलु टोली जापानबीचको खेल वर्षाका कारण बिनानतिजा टुंगिएको छ। खेल रद्द भएपछि दुवै टोलीले एक–एक अंक बाँडेका छन्।
कोरोगी एथलेटिक पार्कमा शनिबार भएको खेल वर्षाका कारण ढिलो सुरु भएको थियो। वर्षाकै कारण खेललाई १५ ओभरमा छोट्याइएको थियो। टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १४९ रन बनाएको थियो। त्यसपछि जापानको इनिङ सुरु हुन नसकेपछि खेल रद्द गरिएको हो।
नेपालका लागि सन्दीप जोराले अविजित ५७ रन बनाए। उनले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै लोकेश बम ५२ रनमा अविजित रहे। उनले २२ बलमा ६ छक्का र १ चौका प्रहार गरे। आसिफ शेखले २१ रनको योगदान दिए। जापानका रेनो साकुरानो थोमस, इब्राहिम ताकाहासी, जेक कुसुडो र डेक्लान सुजुकीले नेपालका एक–एक विकेट लिए।
जापानसँग एक अंक बाँडेपछि नेपालले समूह ‘ए’मा दुई खेलबाट ३ अंक जोडेको छ। यससँगै नेपाल समूह विजेता बनेर क्वार्टरफाइनलमा पुगेको हो। समूहमा अफगानिस्तानले २ अंक जोड्दै दोस्रो स्थानमा रहेर अन्तिम आठमा स्थान बनाएको छ। जापान भने १ अंकसहित समूह चरणबाटै बाहिरिएको छ। नेपालले समूहको पहिलो खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको थियो। अफगानिस्तानले पहिलो खेलमा जापानलाई हराएको थियो।
समूह ‘ए’को विजेता बनेपछि नेपालले क्वार्टरफाइनलमा श्रीलंकाको सामना गर्नेछ। आयोजकको आधिकारिक तालिकाअनुसार नेपाल र श्रीलंकाबीचको क्वार्टरफाइनल असोज १३ गते (सेप्टेम्बर २९) बिहान ९ बजे जापानमा हुनेछ। नेपाल समयअनुसार खेल बिहान ५ः४५ बजे सुरु हुनेछ।
त्यस्तै, समूह ‘ए’को उपविजेता अफगानिस्तानले क्वार्टरफाइनलमा भारतसँग खेल्नेछ। भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाले यस प्रतियोगिताको क्वार्टरफाइनलमा सिधै स्थान बनाएका थिए। नेपालले अब श्रीलंकाविरुद्धको क्वार्टरफाइनल जित्दै एसियाली खेलकुदको पुरुष क्रिकेटमा पदकको दौडलाई अगाडि बढाउने लक्ष्य राख्नेछ।
प्रतिक्रिया दिनुहोस