नेपाल एसबीआई बैंक लिमिटेडले ललितपुरको कुपण्डोलस्थित गुरुद्वारा गुरु नानक सत्संग समितिको परिसरमा नयाँ एटीएम सञ्चालनमा ल्याएको छ। बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले सोमबार आयोजित एक कार्यक्रमबीच उक्त एटीएमको उद्घाटन गरेका हुन्।
कार्यक्रममा गुरुद्वारा गुरु नानक सत्संग समितिका अध्यक्ष प्रीतम सिंह, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पण्डा, प्रमुख अनुपालन अधिकृत विष्णु देव यादव, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रविण मुनि बज्राचार्य, बागमती प्रदेश प्रमुख सुशील राज श्रेष्ठलगायत बैंक तथा गुरुद्वाराका पदाधिकारीहरूको उपस्थिति थियो।
स्थानीय बासिन्दा, श्रद्धालु तथा बैंकका ग्राहकलाई सहज र आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले उक्त स्थानमा एटीएम सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। नयाँ एटीएम सेवाबाट आसपासका सेवाग्राहीलाई नगद कारोबार तथा अन्य बैंकिङ सुविधामा सहजता पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत गुरुद्वारा गुरु नानक सत्संग समिति परिसरमा बाल पुस्तकालय स्थापना गर्न आवश्यक सहयोग सामग्रीसमेत हस्तान्तरण गरेको छ। बैंकका प्रबन्ध निर्देशक तिवारीले समितिका अध्यक्ष प्रीतम सिंहलाई पुस्तकालय स्थापनाका लागि सहयोग सामग्री हस्तान्तरण गरेका हुन्।
बालबालिकामा पठन संस्कृतिको विकास तथा शैक्षिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले सहयोग गरिएको बैंकले जनाएको छ। शिक्षा, सांस्कृतिक सम्पदाको संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा बैंकले सीएसआरअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
नेपाल एसबीआई बैंकले विगत ३३ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकले देशभर १०४ शाखा, २२ एक्सटेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखारहित बैंकिङ सेवा, १२७ एटीएम तथा एक कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस