टीभीएस मोटर कम्पनीले आफ्नो आधिकारिक वितरक जगदम्बा मोटर्ससँगको सहकार्यमा नुवाकोट र रसुवाका विभिन्न सरकारी तथा सामाजिक संस्थालाई २५ वटा टीभीएस अपाचे मोटरसाइकल हस्तान्तरण गरेको छ।
संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत गरिएको उक्त सहयोग सरकारी कार्यालय, अस्पताल, प्रहरी कार्यालय, विद्यालय तथा स्थानीय संस्थाहरूको सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले गरिएको कम्पनीले जनाएको छ।
हस्तान्तरण गरिएका मोटरसाइकलमध्ये जिल्ला प्रहरी कार्यालय नुवाकोट र जिल्ला प्रहरी कार्यालय रसुवालाई पाँच–पाँचवटा प्रदान गरिएको छ। त्यस्तै, विदुर नगरपालिकालाई दुईवटा तथा नुवाकोट केन्द्रीय कारागार, त्रिशूली अस्पताल, त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय र चण्डेश्वरी माध्यमिक विद्यालयलाई एक–एकवटा मोटरसाइकल उपलब्ध गराइएको छ।
यसैगरी, आमाछोदिङ्मो गाउँपालिका, हाकु स्वास्थ्य चौकी, हाकु माध्यमिक विद्यालय, गोसाइँकुण्ड आधारभूत विद्यालय, ग्रे माध्यमिक विद्यालय, उत्तरगया गाउँपालिका, दाङ्गदाङ्गे स्वास्थ्य चौकी, थुलोगाउँ स्वास्थ्य चौकी र लहरेपौवा स्वास्थ्य चौकीलाई पनि एक–एकवटा मोटरसाइकल हस्तान्तरण गरिएको छ।
यस पहलमार्फत टीभीएस र जगदम्बा मोटर्सले नुवाकोट तथा रसुवाका बाढी प्रभावित समुदायको पुनःस्थापना र पुनरुत्थानमा सहयोग पुर्याउने लक्ष्य राखेका छन्। मोटरसाइकल सहयोगले स्थानीय संस्थाहरूको आवागमन सहज बनाउनुका साथै स्वास्थ्य, सुरक्षा, शिक्षा तथा अन्य सार्वजनिक सेवा प्रवाहमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
टीभीएस मोटर कम्पनीका इन्टरनेसनल बिजनेस प्रेसिडेन्ट पेयमान कार्गरले नेपाल कम्पनीका लागि महत्वपूर्ण बजार भएको उल्लेख गर्दै आफूहरूले सेवा प्रदान गर्ने समुदायमा सकारात्मक योगदान पुर्याउनुलाई पनि उत्तिकै महत्व दिएको बताए।
विभिन्न संस्थालाई २५ वटा मोटरसाइकल हस्तान्तरण गर्दा उनीहरूको सेवा प्रवाह र पहुँच विस्तारमा सहयोग पुग्ने विश्वाससमेत उनले व्यक्त गरे। टीभीएस र जगदम्बा मोटर्सले यस पहललाई व्यावसायिक गतिविधिभन्दा बाहिर रहेर स्थानीय समुदायको हित र विकासमा योगदान पुर्याउने प्रतिबद्धताका रूपमा लिएका छन्।
प्रतिक्रिया दिनुहोस