२०८३, मंसिर ७ गते

images

शरद ऋतुमा हिमाल आरोहण अनुमति लिनेको संख्या बढ्यो

सोमवार , मंसिर ७, २०८३

यस वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि अनुमति लिने आरोहीको संख्या गत वर्षको तुलनामा बढेको छ।

पर्यटन विभागका अनुसार १५ असोज २०८३ देखि ४ मंसिरसम्म ५० वटा हिमाल आरोहणका लागि १ हजार ६३३ जनाले अनुमति लिएका छन्। गत वर्षको शरद ऋतुमा १ हजार ५४८ जनाले मात्रै आरोहण अनुमति लिएका थिए। यस वर्ष हालसम्म गत वर्षको तुलनामा ८५ जना अर्थात् करिब ५.५ प्रतिशत बढी आरोहीले अनुमति लिइसकेका छन्।

विभागका अनुसार यस सिजनमा १९० वटा आरोहण टोलीका १ हजार ६३३ जनाले अनुमति लिएका हुन्। अनुमति लिनेमा १ हजार २५३ पुरुष र ३८० महिला रहेका छन्।

यस सिजनमा सबैभन्दा बढी आरोहीको रोजाइमा मनास्लु हिमाल परेको छ। ८ हजार १६३ मिटर अग्लो मनास्लु आरोहणका लागि ४३ टोलीका ५०० जनाले अनुमति लिएका छन्। त्यस्तै, ६ हजार ८१४ मिटर अग्लो आमादब्लम आरोहणका लागि ४० टोलीका ४७६ जनाले अनुमति लिएका छन्।

यसैगरी हिमलुङ हिमालका लागि १३ टोलीका १३० जना, चुलु फार इस्टका लागि ६ टोलीका ५८ जना, बारुणत्सेका लागि ६ टोलीका ६५ जना र थापा पिकका लागि १४ टोलीका ६३ जनाले अनुमति लिएका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने हालसम्म एउटा टोलीका चार जनाले अनुमति लिएका छन्। अनुमति लिनेमा तीन पुरुष र एक महिला रहेका छन्।

राष्ट्रियता अनुसार सबैभन्दा बढी फ्रान्सका १५० जनाले आरोहण अनुमति लिएका छन्। त्यसपछि चीनका १४६, अमेरिकाका १३०, रुसका १२४, बेलायतका ११२ र जर्मनीका १०२ जना रहेका छन्। यस सिजनमा नेपालका ९० जना आरोहीले पनि अनुमति लिएका छन्। विभागको तथ्यांकमा नेपालसहित ७७ देशका आरोही समेटिएका छन्।

यस सिजनमा हिमाल आरोहण अनुमति शुल्कबापत सरकारले २१ लाख ९७ हजार ७१० अमेरिकी डलर अर्थात् ३३ करोड ४२ लाख ८६ हजार ६१७ रुपैयाँ राजस्व संकलन गरेको छ। पर्यटन विभागका अनुसार शरद ऋतुको आरोहण अनुमति जारी गर्ने क्रम अझै जारी रहेकाले यस वर्ष आरोहीको संख्या थप बढ्न सक्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images