२०८३, मंसिर ७ गते

images

मनकामना केबलकारको २८ वर्षे यात्रा: २ करोड १२ लाखले गरे यात्रा

सोमवार , मंसिर ७, २०८३

गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना दर्शनका लागि सञ्चालनमा रहेको मनकामना केबलकारमार्फत २८ वर्षको अवधिमा २ करोड १२ लाखभन्दा बढी यात्रुले यात्रा गरेका छन्।

चितवनको इच्छाकामना गाउँपालिका–चेरेसमा स्टेशन रहेको मनकामना दर्शन प्रालिले आफ्नो केबलकार सञ्चालनको २८ वर्ष पूरा गरेको अवसरमा उक्त जानकारी दिएको हो। विसं २०५५ मंसिर ८ गतेदेखि सञ्चालनमा आएको मनकामना केबलकार २९औँ वर्षमा प्रवेश गरेको छ। ३.०२ किलोमिटर दूरी रहेको यस केबलकारमार्फत नेपालीसँगै भारतीय तथा अन्य देशका नागरिकले मनकामना मन्दिरको दर्शन गर्दै आएका छन्।

कम्पनीले वार्षिकोत्सवको अवसरमा जारी गरेको विज्ञप्तिमा स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासमा अग्रणी भूमिका निर्वाह गरेको उल्लेख गरेको छ। कम्पनीले केबलकारलाई सफलतापूर्वक सञ्चालन गर्न सहयोग गर्ने कर्मचारी, यात्रु, पर्यटन तथा आतिथ्य क्षेत्रका साझेदार, सहिद लखन र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय तथा चितवन र गोरखा जिल्ला प्रशासन कार्यालयप्रति आभार व्यक्त गरेको छ।

यात्रुको माग, सेवा, सुविधा र हितलाई ध्यानमा राख्दै कम्पनीले पछिल्लो समय मन्दिर नजिकै मनकामना हिलक्रेस्ट रिसोर्टसमेत सञ्चालनमा ल्याएको छ। २८ वर्षको सफल यात्रा पूरा गरेको अवसरमा कम्पनीले आगामी दिनमा यात्रुलाई अझ उत्कृष्ट सेवा र स्तरीय अनुभव प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

images