पश्चिम नेपालमा उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न २,५०० मेगावाट क्षमताको ४०० केभी बझाङ–बनलेक (पश्चिम सेती) प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढाइएको छ। राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडले आयोजनाको अनुमति प्राप्त गर्न विद्युत् विकास विभागमा आवेदन दिएको छ।
प्रस्तावित प्रसारण लाइन बझाङको जयपृथ्वी नगरपालिका–१ मा निर्माण हुने चैनपुर सबस्टेसनदेखि डोटीको शिखर नगरपालिका–१० स्थित बनलेक (पश्चिम सेती) सबस्टेसनसम्म करिब ६० किलोमिटर लामो हुनेछ। आयोजना सम्पन्न भएपछि पश्चिम नेपालका ठूला जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् राष्ट्रिय ग्रिडमा सहज रूपमा प्रवाह गर्न सकिने अपेक्षा गरिएको छ।
आयोजनाअन्तर्गत चैनपुरमा ४००/१३२ केभी क्षमताको १६० एमभीए सबस्टेसन तथा बनलेकमा ४००/१३२ केभी क्षमताको ३१५ एमभीए सबस्टेसन निर्माण गरिनेछ। प्रसारण लाइनका लागि १४३ वटा डबल सर्किट टावर निर्माण हुनेछन्, जसको अधिकतम उचाइ ६१ मिटर रहनेछ।
प्रसारण लाइन तथा सबस्टेसन निर्माणका लागि करिब २९५.४२ हेक्टर जग्गा आवश्यक पर्नेछ। त्यसमध्ये ३०.४१ हेक्टर टावर निर्माणका लागि र बाँकी विद्युत् मार्ग तथा सबस्टेसनका लागि प्रयोग गरिनेछ। प्रसारण लाइनको राइट अफ वे (Right of Way) ४६ मिटर रहनेछ।
राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले आयोजना पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ। निर्माण तथा सञ्चालनका क्रममा भूक्षय, बाढी, वायु प्रदूषणलगायत वातावरणीय प्रभाव न्यूनतम हुने गरी काम गरिने कम्पनीले जनाएको छ।
विद्युत् विकास विभागले आयोजनासम्बन्धी वातावरणीय तथा प्राविधिक पक्षमा सरोकारवालाबाट सुझाव तथा राय माग्दै सार्वजनिक सूचना जारी गरेको छ। आयोजना सम्पन्न भएपछि पश्चिम नेपालमा निर्माणाधीन तथा प्रस्तावित ठूला जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने क्षमता उल्लेखनीय रूपमा विस्तार हुने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस