सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि राष्ट्रसेवक कर्मचारीहरूको संशोधित तलबमान लागू गर्दै साउन १ गतेदेखि नयाँ दरअनुसार तलब, प्रोत्साहन भत्ता र पेन्सन वृद्धि गरेको छ। नयाँ व्यवस्था लागू भएसँगै मुख्यसचिवदेखि कार्यालय सहयोगीसम्म सबै तहका कर्मचारीको मासिक तलब बढेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार अर्थ मन्त्रालयले निजामती, सुरक्षा निकाय, शिक्षक, स्वास्थ्यकर्मी तथा प्रदेश र स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो। मन्त्रालयले सम्बन्धित सबै निकायलाई साउन १ गतेदेखि नै नयाँ दरअनुसार तलब भुक्तानी गर्न निर्देशनसमेत दिएको छ।
नयाँ तलबमानअनुसार सबैभन्दा बढी तलब मुख्यसचिव र नेपाली सेनाका प्रधानसेनापतिले पाउने भएका छन्। उनीहरूको मासिक तलब ९० हजार ५९४ रुपैयाँ कायम गरिएको छ। यसअघि उनीहरूले ८४ हजार ९३२ रुपैयाँ तलब पाउँदै आएका थिए।
त्यसैगरी नेपाल सरकारका सचिव, नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) र सशस्त्र प्रहरी बलका महानिरीक्षकको मासिक तलब ८४ हजार ५७६ रुपैयाँ पुगेको छ।
सरकारी सेवाको सबैभन्दा तल्लो तहमा रहेका कार्यालय सहयोगीलगायत श्रेणीविहीन कर्मचारीको तलब पनि बढेको छ। उनीहरूको मासिक तलब ग्रेडसहित २८ हजार ९८४ रुपैयाँ कायम गरिएको छ, जुन यसअघि २७ हजार १७२ रुपैयाँ थियो।
शिक्षा क्षेत्रमा माध्यमिक तह प्रथम श्रेणीका शिक्षकको मासिक तलब ७४ हजार ९५८ रुपैयाँ पुगेको छ भने प्राथमिक तहका शिक्षकको न्यूनतम तलब ३४ हजार ४२६ रुपैयाँ कायम गरिएको छ। स्वास्थ्य सेवातर्फ अधिकृत बाह्रौँ तहका कर्मचारीले मासिक ८४ हजार ५७६ रुपैयाँ तलब पाउने भएका छन्।
तलब वृद्धिसँगै सरकारले सबै राष्ट्रसेवक कर्मचारीलाई मासिक १० प्रतिशत प्रोत्साहन भत्ता दिने व्यवस्था पनि गरेको छ। अर्थ मन्त्रालयका अनुसार ग्रेड रकमसहित कायम हुने तलबको १० प्रतिशत रकम प्रोत्साहन भत्ताका रूपमा उपलब्ध गराइनेछ।
सरकारले पेन्सनधारीहरूलाई पनि राहत दिएको छ। नयाँ व्यवस्थाअनुसार सबै निवृत्त कर्मचारीको पेन्सनमा १० प्रतिशत वृद्धि गरिएको छ।
सरकारको यो निर्णयबाट निजामती कर्मचारी, सुरक्षा निकाय, शिक्षक, स्वास्थ्यकर्मी, प्रदेश तथा स्थानीय तहका कर्मचारी र पेन्सनधारी गरी लाखौँ सेवाग्राही प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। नयाँ तलबमान कार्यान्वयनसँगै सरकारी कर्मचारीको सेवा–सुविधामा सुधार आउने विश्वास सरकारले व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस