नाइमा मोबिलिटी एक्स्पो–२०२६ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा सुरु भएको एक्स्पोमा ५५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अटोमोबाइल तथा मोबिलिटी ब्रान्ड सहभागी छन्।
नाइमाको दोस्रो संस्करणका रूपमा आयोजना गरिएको नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा सर्वसाधारणका लागि २०० रुपैयाँ र विद्यार्थीका लागि १०० रुपैयाँ टिकट शुल्क तोकिएको छ। एक्स्पोस्थलमै टिकट खरिद गर्ने अवलोकनकर्ताले ५० प्रतिशत छुट पाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ।
त्यस्तै, क्यूआरमार्फत टिकटको भुक्तानी गर्दा ५० प्रतिशतसम्म नगद फिर्ता पाउने योजना पनि ल्याइएको छ। गत वर्षको पहिलो संस्करणमा एक लाखभन्दा बढीले एक्स्पो अवलोकन गरेको नाइमाले जनाएको छ। पहिलो संस्करणबाट उत्साहित हुँदै यस वर्षको एक्स्पोलाई थप व्यवस्थित, आकर्षक र प्रभावकारी बनाइएको आयोजकको भनाइ छ।
एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ। उद्घाटनका दिन दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म एक्स्पो खुला रहनेछ भने अन्य दिन बिहान ११ बजेदेखि साँझ ७ बजेसम्म अवलोकन गर्न सकिनेछ।
नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधनको प्रदर्शनीमा मात्र सीमित नरही नेपालको मोबिलिटी क्षेत्रको वर्तमान अवस्था बुझ्ने र आगामी दिनको दिशा तय गर्ने महत्वपूर्ण मञ्च बन्ने बताएकी छन्।
विद्युतीय सवारीसाधनको बढ्दो प्रयोग, नयाँ ब्रान्डको प्रवेश र उपभोक्ताको बदलिँदो रोजाइबीच आयोजना भएको एक्स्पोलाई आगामी चाडपर्वमा अटोमोबाइल बजारलाई थप चलायमान बनाउने महत्वपूर्ण अवसरका रूपमा समेत हेरिएको छ।
प्रतिक्रिया दिनुहोस