चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को आयातमा ठूलो वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउन र भदौमा २ हजार ८३४ वटा विद्युतीय कार, जीप तथा भ्यान नेपाल भित्रिएका छन्।
ईभीको आयात बढेसँगै यसका लागि ६ अर्ब ७० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा बाहिरिएको छ। सरकारले सोही अवधिमा ईभी आयातबाट ४ अर्ब २९ करोड रुपैयाँ राजस्व संकलन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ४८६ वटा मात्रै ईभी आयात भएको थियो। त्यसबेला ईभी आयातमा १ अर्ब २७ करोड रुपैयाँ बाहिरिँदा ८० करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
यसरी गत वर्षको तुलनामा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ईभीको आयात संख्या ४८३ प्रतिशतले बढेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
चीनबाट मात्रै १७४५ ईभी
चालु आवको पहिलो दुई महिनामा नेपालमा चार देशबाट ईभी आयात भएको छ। चीन, भारत, थाइल्याण्ड र अमेरिकाबाट ईभी नेपाल भित्रिएका हुन्। सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन्। चीनबाट मात्रै १ हजार ७४५ वटा ईभी नेपाल भित्रिएका छन्। भारतबाट ७३९, थाइल्याण्डबाट ३४८ र अमेरिकाबाट २ वटा ईभी आयात भएको विभागको तथ्यांक छ।
रकमका आधारमा पनि चीन नै अगाडि छ। चीनबाट ४ अर्ब २६ करोड रुपैयाँ बराबरका ईभी आयात भएका छन्। भारतबाट १ अर्ब ४२ करोड, थाइल्याण्डबाट १ अर्ब र अमेरिकाबाट करिब ७८ लाख रुपैयाँ बराबरका ईभी आयात भएका छन्। यसले नेपालमा ईभी बजारमा चिनियाँ ब्रान्ड तथा मोडलको उपस्थिति अझै बलियो रहेको देखाउँछ।
अटो शोपछि आयात बढेको व्यवसायीको भनाइ
ईभी आयात बढ्नुमा पछिल्लो समय भएका अटोमोबाइल प्रदर्शनीको समेत प्रभाव रहेको व्यवसायीहरूले बताएका छन्। साउनको अन्तिम सातामा नाइमा मोबिलिटी एक्स्पो आयोजना भएको थियो। त्यसपछि भदौ ९ देखि १४ गतेसम्म काठमाडौंमा नाडा अटो शो आयोजना भयो।
दुवै प्रदर्शनीमा विभिन्न कम्पनीले नयाँ विद्युतीय सवारीसाधन सार्वजनिक तथा प्रदर्शन गरेका थिए। अटो शोमा नयाँ मोडल तथा ब्रान्डप्रति ग्राहकको चासो र माग बढ्ने भएकाले त्यसअनुसार सवारीसाधनको आयातसमेत बढाइएको व्यवसायीहरूको भनाइ छ। चाडपर्व नजिकिँदै गर्दा व्यक्तिगत तथा व्यावसायिक प्रयोजनका सवारीसाधनको माग बढ्ने अपेक्षाले पनि व्यवसायीहरूले आयात बढाएको बताएका छन्।
ईभी बजार विस्तारसँगै विदेशी मुद्रा बहिर्गमन पनि बढ्यो
ईभी आयातमा भएको तीव्र वृद्धिले एकातर्फ नेपालमा विद्युतीय सवारीको बजार विस्तार भइरहेको देखाए पनि अर्कोतर्फ सवारीसाधन आयातका लागि हुने विदेशी मुद्रा बहिर्गमन समेत बढेको छ।
गत वर्षको पहिलो दुई महिनामा ईभी आयातमा १ अर्ब २७ करोड रुपैयाँ बाहिरिएकोमा चालु आवको सोही अवधिमा यो रकम बढेर ६ अर्ब ७० करोड रुपैयाँ पुगेको छ। यद्यपि ईभी आयातबाट सरकारले उठाउने राजस्वमा समेत उल्लेख्य वृद्धि भएको छ। गत वर्षको दुई महिनामा ८० करोड रुपैयाँ राजस्व संकलन भएकोमा चालु आवको सोही अवधिमा ४ अर्ब २९ करोड रुपैयाँ पुगेको छ।
यसले नेपालमा ईभीको माग र आयात दुवै तीव्र गतिमा विस्तार भइरहेको देखाएको छ।
प्रतिक्रिया दिनुहोस