रोल्पाको थबाङ गाउँपालिका-५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा गोठ पुरिँदा दुईजनाको मृत्यु भएको छ। घटनामा दुईजना घाइते भएका छन् भने १० जना बेपत्ता रहेको प्रहरीले जनाएको छ।
बुधबार राति करिब ८ः४० बजे माथिबाट खसेको पहिरोले स्थानीय कमलबहादुर पुन मगरको घरसहित ६ वटा घर तथा गोठ पुरेको हो। स्थानीयको सहयोगमा राति ११ः५५ बजे २२ वर्षीय हिमाल पुन मगर र २५ वर्षीय संजय घर्ती मगरलाई घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ।
पहिरोमा पुरिएर १८ वर्षीया शान्ति पुन मगर र ६० वर्षीय कमलबहादुर पुन मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक पञ्चकुमार बाखुले जानकारी दिए।
थप उद्धार तथा खोजीका लागि बिहीबार बिहान ४ बजे विपद् उद्धार सामग्रीसहित एसओसीओ समेत १३ जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक विवरणअनुसार पहिरोमा १० जना बेपत्ता रहेको खुलेको छ। घटनास्थलमा फोन सम्पर्क हुन नसकेकाले बेपत्ता तथा प्रभावितको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस