रसुवाको भोटेकोशी नदीमा बुधबार आएको भीषण बाढीपछि कैलाश मानसरोवर यात्रामा गएका ६४४ जना सम्पर्कविहीन भएका छन्। तीमध्ये १२७ जना नेपाली रहेको बताइएको छ।
सम्पर्कविहीनमध्ये सबैभन्दा धेरै १७८ जना भारतीय नागरिक रहेका छन्। यस्तै, जी इन्टरटेन इन्टरप्राइजेजका पूर्वप्रमुख कार्यकारी अधिकृत अतुल दास, उनकी पत्नी पायल दाससहित ऋचा टुर्स एण्ड ट्राभल्समार्फत कैलाश मानसरोवर यात्रामा गएका ६८ जना पनि सम्पर्कविहीन छन्।
बालुवाटारस्थित ऋचा टुर्स एण्ड ट्राभल्सका समीर गाइजुका अनुसार उक्त कम्पनीमार्फत यात्रामा गएका ६१ जना भारतीय र ७ जना गैरआवासीय भारतीय (एनआरआई) सम्पर्कविहीन छन्। उनीहरूसँगै ट्रेक्सका १८ जना कर्मचारी पनि सम्पर्कमा नरहेको उनले जानकारी दिए।
सम्पर्कविहीन यात्रुहरू रसुवाको टिमुरेस्थित याङ्गिला होटल एण्ड लजमा बसेका थिए। उनीहरू बुधबार बिहान करिब ८ बजेसम्म टिमुरेबाट सम्पर्कमा रहेको भए पनि त्यसपछि अवस्था अज्ञात रहेको बताइएको छ।
भोटेकोशी नदीमा आएको अचानकको बाढीले रसुवासहित नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ। बाढीपछि नदी तटीय क्षेत्रमा व्यापक खोज तथा उद्धार अभियान सञ्चालन भइरहेको छ।
प्रतिक्रिया दिनुहोस