रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित सूचीकृत कम्पनीको विवरण सार्वजनिक गर्दै उनीहरूको धितोपत्र कारोबारमा विशेष निगरानी गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ।
भदौ १० गते आएको बाढीबाट भोटेकोशी नदी प्रणाली आसपास सञ्चालनमा रहेका तथा निर्माणाधीन जलविद्युत् आयोजना, प्रसारण संरचना र अन्य भौतिक पूर्वाधारमा क्षति पुगेको भन्दै सेबोनले त्यस्ता सूचीकृत कम्पनीको अवस्था यकिन गरी सार्वजनिक गर्न नेप्सेलाई निर्देशन दिएको हो।
बाढीपछि समग्र सेयर बजारमा लगातार गिरावट देखिइरहेका बेला प्रभावित कम्पनीको सेयर कारोबारमा अस्वाभाविक गतिविधि हुन सक्ने भन्दै बोर्डले नेप्सेलाई विशेष सतर्कता अपनाउन भनेको छ।
प्रभावित कम्पनीको विवरण तत्काल सार्वजनिक गर्न निर्देशन
सेबोनले प्राकृतिक विपद्बाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने सूचीकृत कम्पनीको विस्तृत सूची तत्काल तयार गरी जानकारी गराउन नेप्सेलाई निर्देशन दिएको छ।
त्यस्तै, बाढीबाट प्रभावित कम्पनीको अवस्था, आयोजना तथा भौतिक संरचनामा भएको क्षतिलगायतका विवरण सार्वजनिक गर्न पनि बोर्डले भनेको छ।
विशेषगरी भोटेकोशी नदी प्रणाली आसपास रहेका जलविद्युत् आयोजना, निर्माणाधीन आयोजना, प्रसारण संरचना तथा अन्य भौतिक पूर्वाधारमा भएको क्षतिको विवरण यकिन गर्नुपर्ने सेबोनको निर्देशन छ।
अस्वाभाविक कारोबार भए विशेष निगरानी
सेबोनले प्रभावित कम्पनीको धितोपत्र कारोबारमा हुने असामान्य मूल्य परिवर्तन तथा अस्वाभाविक खरिद–बिक्रीलाई विशेष निगरानीमा राख्न नेप्सेलाई निर्देशन दिएको छ।
बाढीबाट कम्पनीको उत्पादन, आयोजना निर्माण, सम्पत्ति तथा वित्तीय अवस्थामा पर्न सक्ने प्रभावलाई आधार बनाएर लगानीकर्ताले गर्ने कारोबारमा समेत असामान्य गतिविधि हुन सक्ने भएकाले नेप्सेलाई ‘अलर्ट’ रहन भनिएको हो।
प्राकृतिक विपद्बाट कम्पनीको वास्तविक वित्तीय अवस्था प्रभावित भएमा त्यसको सूचना बजारमा समयमा नै पुग्नुपर्ने भएकाले प्रभावित सूचीकृत कम्पनीको विवरण सार्वजनिक गर्न सेबोनले जोड दिएको छ।
भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोटलगायतका जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ। बाढीले जलविद्युत् आयोजना, सडक, पुल, प्रसारण संरचना तथा अन्य पूर्वाधारमा समेत व्यापक क्षति पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस