अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय कलंकीमा कार्यरत दुई कर्मचारीविरुद्ध ५० हजार रुपैयाँ घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले जग्गा हालसाबिक तथा प्लट मिलान गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको अभियोगमा तत्कालीन सर्वेक्षक अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पाँधे विरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार काठमाडौंको चन्द्रागिरी नगरपालिका–९ स्थित जग्गा हालसाबिक गरी प्लट मिलान गरिदिने प्रयोजनका लागि दुवै कर्मचारीले सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए।
सर्वेक्षक श्रेष्ठले घुस मागेको सम्बन्धमा परेको उजुरीका आधारमा आयोगले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा श्रेष्ठ र नापी अधिकृत पाँधेले आपसी मिलेमतोमा सेवाग्राहीलाई काम गरिदिने भन्दै दुःख दिने तथा रकमका लागि बार्गेनिङ गर्ने गरेको पाइएको आयोगको दाबी छ।
कार्यालय सहयोगीमार्फत रकम लिन लगाएको आरोप
अख्तियारका अनुसार कानुनी कारबाहीबाट बच्ने उद्देश्यले दुवै कर्मचारीले आफूहरूले प्रत्यक्ष रूपमा रकम नबुझी कार्यालय सहयोगीमार्फत घुस रकम लिन सहमति गराएको समेत अनुसन्धानबाट खुलेको छ।
आयोगले दुवै प्रतिवादीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेको ठहर गरेको छ। उनीहरूविरुद्ध ५० हजार रुपैयाँ बिगो कायम गर्दै बिगोबमोजिम जरिवाना तथा कैद सजायको मागदाबी गरिएको अख्तियारले जनाएको छ।
आयोगले आरोपपत्र विशेष अदालत, काठमाडौंमा दायर गरेको हो। अब मुद्दामा प्रतिवादीमाथि लागेको अभियोग पुष्टि भएमा उनीहरू कानुनबमोजिम सजायको भागीदार हुनेछन्।
प्रतिक्रिया दिनुहोस