नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री बालेन्द्र शाह निजी क्षेत्रप्रति सकारात्मक नरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्री शाहका पछिल्ला अभिव्यक्ति र निर्णयले सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नदेखिएको बताएका हुन्।
देशको अर्थतन्त्रलाई कुन दिशामा लैजाने भन्ने विषयमा प्रधानमन्त्रीले स्पष्ट आर्थिक नीति र प्राथमिकता तय गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान जान नसकेको थापाको भनाइ छ। सरकारले लगानीको वातावरण निर्माण गर्दै अर्थतन्त्रमा निजी क्षेत्रको भूमिका विस्तार गर्ने नीति लिनुपर्ने उनले बताए।
दुग्ध विकास संस्थान, हेटौँडा कपडा उद्योग र नेपाल औषधि लिमिटेडलगायत सरकारी उद्योग सञ्चालनको विषयलाई पनि राज्यको समग्र आर्थिक नीतिसँग जोडेर हेर्नुपर्ने थापाले बताए। सरकारी उद्योग सञ्चालन गर्नु मात्रभन्दा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने वातावरण निर्माण गर्नुपर्ने उनको धारणा छ।
२०४६ सालपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले खुला, उदार र बजारमुखी अर्थतन्त्रको बाटो रोजेको स्मरण गर्दै थापाले प्रधानमन्त्रीको आर्थिक नीतिले नै देशको गन्तव्य निर्धारण गर्ने बताए।
‘अहिलेको प्रधानमन्त्रीलाई निजी क्षेत्र हेर्नै मन पर्दैन,’ थापाले भने, ‘यो मेरो आफ्नो बुझाइमा मात्र होइन, हि हेट्स प्राइभेट सेक्टर।’
प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र निर्णयलाई आधार बनाएर आफूले यस्तो धारणा बनाएको उनले स्पष्ट पारे। सरकारी उद्योग सञ्चालन र अर्थतन्त्रको अवस्थाबारे निर्णय गर्दा राज्य सञ्चालन गर्नेले समग्र आर्थिक अवस्था बुझ्नुपर्ने उनको भनाइ छ।
सरकारी उद्योगहरू सञ्चालन भएर नाफा कमाऊन् भन्ने आफ्नो शुभेच्छा भए पनि मुलुकको वर्तमान आर्थिक अवस्थालाई ध्यानमा राखेर नीति बनाउनुपर्ने थापाले बताए। उनले सरकारलाई निजी क्षेत्रका लागि लगानीको वातावरण निर्माण गर्नसमेत आग्रह गरे।
प्रतिक्रिया दिनुहोस