प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएका छन्। बिहीबारदेखि जारी निरन्तर वर्षा र धुम्म मौसमका कारण भिजिबिलिटी कम हुँदा विभिन्न गन्तव्यका उडानमा असर परेको हो।
बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार पोखरा, भरतपुर र तुम्लिङटारमा भिजिबिलिटी कम हुँदा उडान प्रभावित भएको छ। खराब मौसमका कारण माउन्टेन फ्लाइटसमेत स्थगित गरिएको छ।
बुद्ध एयरले भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीलगायत आन्तरिक गन्तव्यका साथै भारतको वाराणसी र कोलकातामा उडान गर्दै आएको छ।
यस्तै, यती एयरलाइन्सले पनि प्रतिकूल मौसमका कारण उडान ढिलाइ तथा समय परिवर्तन हुनसक्ने जनाएको छ। यात्रुलाई विमानस्थलतर्फ प्रस्थान गर्नुअघि एयरलाइन्सको वेबसाइट वा मोबाइल एपमार्फत उडानको पछिल्लो अवस्था जाँच गर्न आग्रह गरिएको छ।
यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार कम भिजिबिलिटीका कारण पोखरा उडान हुन सकेको छैन। अन्य गन्तव्यका उडानसमेत मौसमका कारण प्रभावित भएको उनले बताए।
आन्तरिक उडान प्रभावित भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको चाप बढेको छ।
प्रतिक्रिया दिनुहोस