१२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा दोषी ठहर भई फरार रहेका शेरबहादुर मगर पक्राउ परेका छन्।
ओखलढुंगाको चम्पादेवी गाउँपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–३२ बस्दै आएका ४८ वर्षीय मगरलाई प्रहरीले ललितपुर महानगरपालिका–१० बाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार राजु खड्कासमेतको जाहेरीमा नेपाल सरकार वादी र मगर प्रतिवादी रहेका १२ वटा बैंकिङ कसुरसम्बन्धी मुद्दामा उच्च अदालत पाटन, काठमाडौं जिल्ला अदालत र भक्तपुर जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला भएको थियो।
अदालतका फैसलाअनुसार मगरलाई २ वर्ष १४ दिन कैद र ६२ लाख १० हजार १०० रुपैयाँ जरिवाना हुने ठहर भएको थियो। फैसलापछि फरार रहेका मगरको खोजतलासका क्रममा प्रहरीले उनलाई ललितपुरबाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका मगरलाई फैसला कार्यान्वयनका लागि २०८३ असोज ८ गते काठमाडौं जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस