एआई प्रविधिमा आधारित विश्वव्यापी भिडियो मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपालमा हालै आएको बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि १ करोड रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेमार्फत उक्त रकम जम्मा गरेको हो।
कम्पनीका अनुसार सहयोग रकम बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्न अत्यावश्यक सामग्री, आपत्कालीन सहायता तथा अन्य राहत कार्यमा प्रयोग हुनेछ। साथै, प्रभावित समुदायलाई पुनःस्थापित गर्दै सामान्य जीवनमा फर्काउन आवश्यक दीर्घकालीन पुनर्स्थापनाका प्रयासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।
भिलले बाढीका कारण ज्यान गुमाएका परिवारप्रति समवेदना व्यक्त गर्दै प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाएको छ। उद्धार, राहत तथा पुनर्स्थापनामा खटिएका सरकारी तथा सुरक्षा निकाय, स्वयंसेवक, स्थानीय समुदाय र अन्य सहयोगीहरूको प्रयासको पनि कम्पनीले प्रशंसा गरेको छ।
भिलका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत दिलिप ढकालले विपद्को कठिन समयमा सबै एकजुट भएर प्रभावित समुदायको साथमा उभिनुपर्ने बताए। आगामी दिनमा पनि आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्ने उपाय खोजिरहने उनले प्रतिबद्धता जनाए।
कम्पनीले राहत तथा पुनर्स्थापनाका लागि सहयोग गर्न सक्ने व्यक्ति, व्यवसाय तथा संघसंस्थालाई समेत आ–आफ्नो तर्फबाट योगदान गर्दै बाढी प्रभावित समुदायको साथमा उभिन आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस