२०८३, आश्विन ९ गते

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, काठमाडौंमा १५५ प्रतिशतभन्दा बढीले बढ्यो

मंगलवार , भाद्र ३०, २०८३

आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा देशभर घरजग्गा कारोबारमा उल्लेख्य सुधार देखिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घरजग्गा कारोबारको संख्या १२.२५ प्रतिशतले बढेको हो।

विशेषगरी ठूला सहरमा घरजग्गा बजारको गतिविधि तीव्र बनेको देखिन्छ। काठमाडौं महानगरपालिकामा घरजग्गा कारोबार संख्या १५५.७४ प्रतिशतले बढेको छ। त्यस्तै, ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार बढेको छ।

काठमाडौंमा कारोबार मूल्य २१७ प्रतिशतले बढ्यो

घरजग्गा कारोबार भएको क्षेत्रफलका आधारमा पनि काठमाडौं महानगरपालिका सबैभन्दा अगाडि देखिएको छ। काठमाडौंमा कारोबार भएको कुल क्षेत्रफल २०८.२२ प्रतिशतले बढेको छ।

त्यस्तै, कारोबारको कुल मूल्यमा काठमाडौंमा २१७.४० प्रतिशतको वृद्धि भएको छ। कारोबार संख्या, क्षेत्रफल र कुल मूल्य तीनै सूचकमा आएको उच्च वृद्धिले राजधानीको घरजग्गा बजारमा आर्थिक गतिविधि उल्लेख्य रूपमा बढेको संकेत गर्छ।

उपमहानगरपालिकामा धनगढी र हेटौंडा अगाडि

उपमहानगरपालिकातर्फ धनगढीमा घरजग्गा कारोबार संख्या ७३.१६ प्रतिशतले बढेको छ। कारोबार भएको क्षेत्रफल वृद्धिमा भने हेटौंडा अगाडि छ। हेटौंडामा कारोबार भएको कुल क्षेत्रफल १०४.१६ प्रतिशतले बढेको छ।

त्यस्तै, कुल कारोबार मूल्यमा पनि हेटौंडामा १८६.८० प्रतिशतको वृद्धि भएको छ।

लिखत पारित र राजीनामा कारोबार पनि बढ्यो

समीक्षा अवधिमा देशभर लिखत पारितको संख्या १२.२८ प्रतिशतले बढेको छ। त्यस्तै, राजीनामा कारोबार २२.८८ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमासमा राजीनामा कारोबारको वृद्धि ८.१५ प्रतिशतमा सीमित थियो।

यस अवधिमा घरजग्गा कारोबार भएको कुल क्षेत्रफलसमेत १५.४१ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो।

पछिल्लो तथ्यांकले घरजग्गा बजारमा कारोबार संख्या मात्र नभई कारोबार भएको क्षेत्रफल र कुल मूल्यमा समेत सुधार आएको देखाएको छ। विशेषगरी काठमाडौंसहित प्रमुख सहरमा देखिएको उच्च वृद्धिले घरजग्गा बजारमा माग र कारोबार गतिविधि पुनः बढ्न थालेको संकेत गरेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!