२०८३, आश्विन १० गते

एक अर्ब ३४ करोडको हुण्डी कारोबारको आरोपमा अजयकुमार पक्राउ

बुधवार , भाद्र ३१, २०८३

मलेसियालगायत विभिन्न मुलुकबाट अवैध हुण्डी कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको आरोपमा धनुषाका अजयकुमार मुखियालाई पक्राउ गरेको हो।

सीआईबीका अनुसार धनुषाको सहिद नगरपालिका–४ का मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताहरू प्रयोग गरी उक्त परिमाण बराबरको कारोबार गरेको पाइएको छ।

सीआईबीले उनलाई धनुषा जिल्ला अदालतबाट अनुमति लिएर भदौ ३० गते पक्राउ गरेको जनाएको छ। मुखियामाथि हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ।

अनुसन्धानका क्रममा कारोबारको प्रकृति, रकमको स्रोत तथा यसमा संलग्न अन्य व्यक्तिहरूबारे समेत अध्ययन भइरहेको प्रहरीले जनाएको छ। सीआईबीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी तथा अनुसन्धान कार्यलाई तीव्रता दिइएको छ।

हुण्डीमार्फत हुने अनौपचारिक तथा अवैध रकम स्थानान्तरणले औपचारिक वित्तीय प्रणाली बाहिर ठूलो रकम परिचालन हुन सक्ने भएकाले यस्ता कारोबारमाथि अनुसन्धान र निगरानी बढाइएको प्रहरीले जनाएको छ।
 
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!