अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि नयाँदिल्ली प्रस्थान गरेका छन्। भारत सरकारको निमन्त्रणामा अर्थमन्त्री वाग्ले बिहीबार बिहान ७ः३५ बजेको उडानबाट काठमाडौं हुँदै नयाँदिल्ली प्रस्थान गरेका हुन्।
अर्थमन्त्रीको सचिवालयका अनुसार भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल-भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सहकार्यका विभिन्न विषयमा छलफल हुनेछ।
अर्थमन्त्री वाग्लेले बिहीबार साँझ ५ बजे भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता गर्ने कार्यक्रम छ। भेटवार्तामा दुई देशबीचको आर्थिक सम्बन्ध तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ।
शुक्रबार बिहान भारतका पूर्वविदेश सचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। त्यसैदिन साँझ ५ बजे भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
शुक्रबार साँझ ७ः३० बजे भारत व्यापार प्रवर्द्धन संगठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनेछन्। शनिबार बिहान ९ः३० बजे भारतीय उद्योग परिसंघले आयोजना गर्ने भारतीय प्रतिष्ठित औद्योगिक घरानाका प्रतिनिधिसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ।
त्यसपछि शनिबार बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन्। अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।
अर्थमन्त्री वाग्लेसँग भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन्।
भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्तासँगै विपद्पछिको पुनर्निर्माण, आर्थिक सहकार्य तथा दुई देशबीचको व्यापार र लगानीसम्बन्धी विषयमा संवाद हुने अपेक्षा गरिएको छ।
भ्रमण तालिका:
बिहीवार
-५:००-बजे: भारतीय समकक्षी निर्मला सीतारमणसँग भेटवार्ता ।
शुक्रवार
-बिहान ९ बजे: पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्नुहुने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी ।
-५:००बजे: भारतीय विदेशमन्त्री डा. एस. जयशंकरसँग भेटवार्ता ।
-७:३० बजे; भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्नुहुने बृहत भेटघाट कार्यक्रममा सहभागी ।
शनिवार
-९:३० बजे ; भारतीय उद्योग परिसंघले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानाहरूसँगको सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागी ।
-११:३० बजे ; दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिबारे प्राज्ञिक छलफलमा प्रमुख अतिथिका रूपमा सहभागी ।
-साँझ ४ बजे नेपाल फिर्ता ।
प्रतिक्रिया दिनुहोस