छुटेको जग्गा दर्ता सिफारिस पत्र पठाइदिने भन्दै सेवाग्राहीसँग ९ लाख रुपैयाँ घुस लिएको अभियोगमा नापी कार्यालय डिल्लीबजारका नापी अधिकृत डिल्लीबहादुर वली पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालको टोलीले ३ नम्बर नापी टोली माछापोखरीका प्रमुखसमेत रहेका वलीलाई बुधबार बसुन्धरा चोकस्थित एक रेस्टुरेन्टबाट घुस रकमसहित नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार वलीले छुट जग्गा दर्ता सिफारिससहितको मिसिल भूमि प्रशासन कार्यालय, मनमैजुमा पठाउने कामका लागि सेवाग्राहीलाई अनावश्यक दुःख, हैरानी तथा सास्ती दिँदै घुस माग गरेका थिए।
गोप्य सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले वलीलाई ९ लाख रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका वलीमाथि भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।
प्रतिक्रिया दिनुहोस