२०८३, आश्विन ९ गते

भोटेकोशी बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, तत्काल ५० हजार दिने

बिहिवार , आश्विन १, २०८३

नेपाल विद्युत् प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बुधबार साँझ बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो।

भोटेकोशी बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ भने विभिन्न आयोजनामा कार्यरत कर्मचारी तथा कामदारसमेत बेपत्ता भएका छन्। प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता रहेको प्राधिकरण सञ्चालक समिति सदस्य अंशुकिरण शाहीले जानकारी दिनुभयो।

तत्काल ५० हजार राहत

प्राधिकरणले पहिलो चरणमा बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई प्रति कर्मचारी तथा कामदार ५० हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको छ।

यो रकम बेपत्ता कर्मचारी तथा कामदारको खोजी कार्य, आफ्नो कुल धर्म तथा परम्पराअनुसार सामाजिक संस्कार गर्न र तत्कालीन जीवनयापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उपलब्ध गराउन लागिएको हो।

स्थायी कर्मचारीका परिवारलाई ६ महिनासम्म निर्वाह रकम

प्राधिकरणले स्थायी कर्मचारीका नजिकका हकवालालाई थप निर्वाह रकम उपलब्ध गराउने निर्णयसमेत गरेको छ।

प्राधिकरणबाट बेपत्ता स्थायी कर्मचारीलाई क्षतिपूर्ति वा अन्य रकम दिने सम्बन्धमा थप निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्म, बेपत्ता कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम मासिक रूपमा निर्वाह खर्चबापत उपलब्ध गराइने भएको छ।

बैठकमा ऊर्जामन्त्री श्रेष्ठले बेपत्ता कर्मचारी तथा कामदारका परिवारको जिम्मेवारी सरकारले लिनुपर्ने बताउनुभयो।

“हामी एउटै परिवार हौँ। यो पैसाले यत्रो ठूलो दुःखको घाउ त निको पार्दैन, तर मल्हम लगाउने काम गरोस्,” मन्त्री श्रेष्ठले भन्नुभयो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!