२०८३, आश्विन १० गते

नेपाल–भारत व्यापारदेखि बाढीपछिको पुनर्निर्माणसम्मका विषयमा छलफल, वाग्ले–सीतारमण भेटवार्ता

शुक्रवार , आश्विन २, २०८३

भारत भ्रमणमा रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गरेका छन्। भेटमा नेपालमा हालै आएको बाढीबाट भएको क्षति, पुनःस्थापना तथा पुनर्निर्माणका साथै द्विपक्षीय आर्थिक सम्बन्ध र सीमापार पूर्वाधार तथा कनेक्टिभिटीका विषयमा छलफल भएको छ।

वाग्लेको भारत भ्रमणकै क्रममा भारत र नेपालबीच व्यापार, पारवहन तथा अनधिकृत व्यापार नियन्त्रणसम्बन्धी अन्तरसरकारी उपसमिति (आईजीएससी) को बैठक पनि नयाँ दिल्लीमा सम्पन्न भएको छ। सेप्टेम्बर १६ र १७ मा भएको बैठकमा द्विपक्षीय व्यापार, बजार पहुँच, भन्सार सहजीकरण, सीमा पूर्वाधार र रेल तथा सडक कनेक्टिभिटीका विषयमा विस्तृत छलफल भएको भारतीय वाणिज्य तथा उद्योग मन्त्रालयले जनाएको छ।

बैठकमा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व वाणिज्य विभागका संयुक्त सचिव उज्ज्वल कुमार घोष र नेपाली प्रतिनिधिमण्डलको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका संयुक्त सचिव बुद्धबहादुर गुरुङले गरेका थिए।

नेपालका उत्पादनलाई बजार पहुँच सहज बनाउने विषयमा छलफल

बैठकमा कृषि तथा दुग्धजन्य उत्पादन, खाद्य सामग्री, औषधि, मेडिकल उपकरण तथा आयुषजन्य उत्पादनका लागि थप बजार पहुँच सहज बनाउने उपायबारे छलफल भएको थियो।

यस्तै, भन्सार तथा व्यापार सहजीकरण, मापदण्ड, खाद्य सुरक्षा, वनस्पति स्वास्थ्यसम्बन्धी उपाय, औषधि तथा मेडिकल उपकरणको नियमनलगायत विषयमा पनि दुवै पक्षले छलफल गरेका छन्।

भन्सार प्रक्रियालाई थप सहज बनाउन पूर्वआगमन सूचना आदानप्रदान, उत्पत्तिको प्रमाणपत्रको विद्युतीय प्रमाणीकरण तथा भन्सार प्रक्रियाको स्वचालन र डिजिटलाइजेसनलाई अघि बढाउने विषयमा समेत सहमति भएको छ।

रेल, सडक र सीमा पूर्वाधारमा पनि छलफल

दुवै पक्षले रेल तथा सडक कनेक्टिभिटी, मालवाहक वस्तुको आवागमन, एकीकृत जाँच चौकी तथा स्थल बन्दरगाहको पूर्वाधारबारे समीक्षा गरेका छन्।

द्विपक्षीय तथा पारवहन व्यापारमा देखिएका सञ्चालनसम्बन्धी अवरोध समाधान गर्ने र विद्यमान पूर्वाधारको अधिकतम उपयोग गर्ने विषयमा पनि छलफल भएको छ।

बैठकमा वैध सीमापार व्यापारलाई सहज बनाउनेसँगै अनधिकृत व्यापार तथा व्यावसायिक ठगी नियन्त्रणका लागि सम्बन्धित निकायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा दुवै पक्षले जोड दिएका छन्।

बाढीपछिको पुनर्निर्माणमा भारतीय सहयोगबारे वाग्ले–सीतारमण छलफल

यसैबीच, बिहीबार नयाँ दिल्ली पुगेका अर्थमन्त्री वाग्लेले भारतीय अर्थमन्त्री सीतारमणसँग छुट्टै भेटवार्ता गरेका थिए। भेटमा नेपालमा हालै आएको बाढीको प्रभाव, पुनःस्थापना तथा पुनर्निर्माणका लागि नेपालका प्राथमिकता र भारतको सहयोगबारे छलफल भएको भारतीय अर्थ मन्त्रालयले जनाएको छ।

वाग्लेले बाढीपछि भारतले उपलब्ध गराएको राहत सामग्री तथा उद्धार र राहत कार्यका लागि दिएको प्राविधिक सहयोगप्रति धन्यवाद दिएका थिए।

भेटमा विपद् व्यवस्थापनबाहेक नेपाल–भारतबीचको आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा पनि छलफल भएको थियो। विशेषगरी पूर्वाधार र सीमापार कनेक्टिभिटीलाई आर्थिक सहकार्यको महत्वपूर्ण क्षेत्रका रूपमा अघि बढाउने विषयमा दुवै पक्षले जोड दिएका छन्।

भारत भ्रमणका क्रममा वाग्लेले भारतीय विदेशमन्त्री एस. जयशंकरसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ। भ्रमणको मुख्य एजेन्डामा विपद्पछिको पुनर्निर्माण र द्विपक्षीय आर्थिक सहकार्य रहेकाे छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!