असोज ९ गतेदेखि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुने पूर्वानुमानपछि गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री विराजभक्त श्रेष्ठले मौसम विभाग पुगेर अवस्थाबारे जानकारी लिएका छन्।
गृहमन्त्री गुरुङ र ऊर्जामन्त्री श्रेष्ठले बबरमहलस्थित मौसम विज्ञान विभागको कार्यालय पुगेर विभागकी महानिर्देशक अर्चना श्रेष्ठ, प्रवक्ता विभूति पोखरेललगायतसँग भेटवार्ता गरेका हुन्। उनीहरूले सम्भावित मौसमजन्य जोखिम र त्यसबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि भइरहेको तयारीबारे जानकारी लिएका छन्।
बंगालको खाडीको प्रणालीले नेपालमा प्रभाव पार्ने
छलफलका क्रममा मौसमविद्हरूले बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावका कारण नेपालका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने र उच्च हिमाली क्षेत्रमा भारी हिमपातको सम्भावना रहेको जानकारी दिएका छन्।
वर्षा गराउने प्रणाली नेपालभर फैलिन सक्ने सम्भावना रहेको विभागले जनाएको छ। पहाडी तथा तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातका कारण डुबान, कटान तथा पहिरोजस्ता जोखिम बढ्न सक्ने मौसमविद्हरूले बताएका छन्।
विभागकी प्रवक्ता विभूति पोखरेलका अनुसार हालसम्मको अवस्था हेर्दा लुम्बिनी र गण्डकी प्रदेशमा सबैभन्दा बढी वर्षा हुने सम्भावना छ। उनले भारी वर्षाका कारण डुबान, कटान र पहिरोको जोखिम बढ्न सक्ने भएकाले पहिचान गरिएका जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिन्। साथै हिमाली क्षेत्रमा यात्रा नगर्न पनि उनले अनुरोध गरिन्।
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान महाशाखाका अनुसार उत्तर अण्डमान सागर तथा आसपास विकसित न्यूनचापीय क्षेत्र हाल बंगालको खाडीको मध्य भू–भागमा पुगेको छ। उक्त प्रणाली थप शक्तिशाली बन्दै ‘डिप डिप्रेसन’ अर्थात् बलियो न्यूनचापीय क्षेत्रमा परिणत भएको महाशाखाले जनाएको छ।
उक्त प्रणाली पश्चिम–उत्तरपश्चिम दिशातर्फ सर्ने भएकाले बुधबारदेखि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने पूर्वानुमान गरिएको छ।महाशाखाका अनुसार असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुनेछ। एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै मधेश, कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति र टाढाको यात्रा नगर्न आग्रह
मौसम विभागले विशेष बुलेटिन जारी गरेपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। प्राधिकरणले अत्यन्त जरुरी नभई उक्त अवधिमा टाढा तथा रातिको समयमा यात्रा नगर्न आम नागरिकलाई अनुरोध गरेको छ।
सम्बन्धित संघीय मन्त्रालय, प्रदेश सरकार, स्थानीय तह, तीनवटै सुरक्षा निकाय तथा स्वयंसेवकलाई समेत आम नागरिकलाई मौसम तथा सम्भावित जोखिमबारे सुसूचित गर्न र प्रतिकार्यका लागि तयारी अवस्थामा रहन आग्रह गरिएको छ। सम्भावित जोखिम भएका राजमार्ग तथा सडकमा डोजर, एक्साभेटर, लोडरलगायतका उपकरण तयारी अवस्थामा राख्नसमेत प्राधिकरणले सम्बन्धित निकायलाई भनेको छ।
यसैबीच मौसम विभागले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित मन्त्रालय तथा निकायसँग नियमित रूपमा सूचना आदानप्रदान भइरहेको जनाएको छ। प्रवक्ता पोखरेलले सम्भावित जोखिमलाई ध्यानमा राखेर सम्बन्धित निकायबाट आवश्यक तयारी भइरहेको जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस