२०८३, आश्विन ९ गते

गोपनीयता उल्लंघनमा गुगललाई ४०३ मिलियन युरो जरिवाना

मंगलवार , आश्विन ६, २०८३

गुगलमाथि युरोपेली युनियन (ईयू) को डाटा गोपनीयता नियम उल्लंघन गरेको आरोपमा ४०३ मिलियन युरो जरिवाना गरिएको छ। प्रयोगकर्ताको लोकेसन डाटा अनुचित रूपमा प्रशोधन गरेको विषयमा आयरल्यान्डको डाटा प्रोटेक्सन कमिसन (डीपीसी) ले गुगलमाथि उक्त जरिवाना लगाएको हो।

डीपीसीको लामो अनुसन्धानबाट गुगलले प्रयोगकर्ताको ‘वेब एन्ड एक्टिभिटी’ र ‘लोकेसन हिस्ट्री’मार्फत संकलित लोकेसन डाटालाई कानुनी, निष्पक्ष र पारदर्शी ढंगले प्रशोधन नगरेको निष्कर्ष निकालिएको छ।

वेब एन्ड एक्टिभिटी र लोकेसन हिस्ट्रीमा प्रश्न
‘वेब एन्ड एक्टिभिटी’ गुगलको यस्तो सेटिङ हो, जसले प्रयोगकर्ताको ब्राउजिङ तथा खोजसम्बन्धी गतिविधि रेकर्ड गर्छ। त्यस्तै, ‘लोकेसन हिस्ट्री’ले मोबाइल फोनमार्फत प्रयोगकर्ताले भ्रमण गरेका स्थानको विवरण सुरक्षित गर्छ।

अनुसन्धानका क्रममा एन्ड्रोइड मोबाइल अपरेटिङ सिस्टममा रहेको ‘लोकेसन एकुरेसी’ सुविधामार्फत व्यक्तिगत डाटा प्रशोधन गर्दा पनि गुगलले डाटा प्रशोधनसम्बन्धी कानुनी प्रक्रिया, निष्पक्षता र पारदर्शिताका आवश्यक मापदण्ड पूरा नगरेको पाइएको डीपीसीले जनाएको छ।

६ वर्षअघि सुरु भएको थियो अनुसन्धान
गुगलमाथिको अनुसन्धान करिब ६ वर्षअघि सुरु भएको थियो। सन् २०१८ मा लागू भएको युरोपेली युनियनको प्रमुख डाटा गोपनीयता कानुन ‘जनरल डाटा प्रोटेक्सन रेगुलेसन’ (जीडीपीआर) अन्तर्गत गुगलले फेब्रुअरी २०२० सम्म प्रयोगकर्ताको लोकेसन डाटा कसरी प्रशोधन गरिरहेको थियो भन्ने विषयमा अनुसन्धान केन्द्रित थियो।

डीपीसीले अनुसन्धानपछि गुगलको पुरानो डाटा प्रशोधन अभ्यासले जीडीपीआरका कानुनी, निष्पक्षता र पारदर्शितासम्बन्धी प्रावधान पालना नगरेको निष्कर्ष निकालेको हो।

गुगल भन्छ - पुराना नीतिसँग सम्बन्धित
गुगलले भने जरिवाना कम्पनीका पुराना नीतिसँग सम्बन्धित रहेको जनाएको छ। कम्पनीले एक वक्तव्यमार्फत ती नीतिहरू अहिले अद्यावधिक गरिसकेको दाबी गरेको छ। ४०३ मिलियन युरोको यो जरिवाना आयरल्यान्डको डाटा प्रोटेक्सन कमिसनले लगाएको चौथो ठूलो ईयू डाटा गोपनीयता जरिवाना हो।

यसअघि पनि डीपीसीले ठूला प्रविधि कम्पनीमाथि डाटा गोपनीयता उल्लंघनसम्बन्धी कारबाही गरिसकेको छ। मेटामाथि यसअघि १.२ अर्ब युरो जरिवाना लगाइएको थियो भने भिडियो सेयरिङ प्लेटफर्म टिकटकमाथि पनि ठूलो जरिवाना गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!