नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले आगामी जाडोयाममा विद्युत आपूर्तिमा समस्या आउन नदिने बताएका छन् । बुधबार दरबारमार्गस्थित प्राधिकरणको कार्यालयमा पदबहाली गर्दै उनले हिउँदमा विद्युत आपूर्ति सहज बनाउन विभिन्न विकल्पबारे काम भइरहेको जानकारी दिए ।
‘हामीले हिउँदमा विद्युत आपूर्ति सहज बनाउने विकल्पबारे सोचिरहेका छौँ,’ उनले भने, ‘जाडोयाममा विद्युत आपूर्तिमा समस्या आउन दिँदैनौँ ।’
पछिल्लो समय भदौ १० गते भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण विभिन्न जलविद्युत आयोजनामा क्षति पुगेपछि आगामी हिउँदमा विद्युत आपूर्तिमा समस्या आउन सक्ने चर्चा भइरहेको छ । यही अवस्थामा श्रेष्ठले विद्युत आपूर्ति सहज बनाउन वैकल्पिक ऊर्जाका स्रोतको समेत खोजी भइरहेको बताएका हुन् ।
बाढीबाट क्षतिग्रस्त आयोजना पुनर्निर्माण पहिलो प्राथमिकता
कार्यकारी निर्देशक श्रेष्ठले भोटेकोशी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजनाको पुनर्निर्माणलाई आफ्नो पहिलो प्राथमिकतामा राखेको बताए । क्षतिग्रस्त आयोजनालाई पुनर्निर्माण गरी राष्ट्रिय विद्युत प्रणालीमा जोड्ने काम सुरु भइसकेको उनको भनाइ छ ।
बाढीका कारण उत्पादन तथा प्रसारण संरचनामा परेको क्षतिले विद्युत आपूर्तिमा पार्न सक्ने प्रभावलाई ध्यानमा राख्दै पुनर्निर्माणको कामलाई तीव्रता दिइने उनले बताए ।
सुनकोशी–३ को अध्ययनका लागि समिति गठन
श्रेष्ठले सुनकोशी–३ जलविद्युत आयोजनाको विस्तृत डिजाइन तथा इन्जिनियरिङ अध्ययनका लागि छुट्टै समिति गठन गर्ने निर्णय भएको जानकारी पनि दिए ।
उनले नागरिकलाई सहज, भरपर्दो तथा गुणस्तरीय विद्युत सेवा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताए । प्राधिकरणका संरचना तथा आयोजनाको पुनर्निर्माणसँगै विद्युत आपूर्तिलाई नियमित र प्रभावकारी बनाउन आवश्यक योजना अघि बढाउने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस