नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रलाई राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ । महासंघले आगामी १० वर्षलाई ‘एमएसएमई विकास दशक’ घोषणा गरी उद्योग क्षेत्रको विस्तारका लागि विशेष कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको हो ।
महासंघले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष एमएसएमई क्षेत्रको विकासका लागि सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउनुपर्ने, नयाँ उद्योगलाई कर सहुलियत दिनुपर्ने र उत्पादन तथा रोजगारी विस्तारमा विशेष ध्यान दिनुपर्ने सुझाव दिएको छ ।
महासंघले सार्वजनिक खरिद प्रक्रियामा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने माग गरेको छ । स्वदेशी उत्पादन प्रवर्द्धन गर्न ‘मेड इन नेपाल’ अभियान सञ्चालन गर्नुपर्ने तथा निर्यात सहजीकरण र आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदान उपलब्ध गराउनुपर्ने प्रस्ताव महासंघले गरेको छ ।
त्यस्तै, महिला तथा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि विशेष उद्यमशीलता प्याकेज ल्याउनुपर्ने महासंघको माग छ । ‘१०० स्टार्टअप–१०० लगानीकर्ता’ कार्यक्रम सञ्चालन गर्न तथा उद्योगसम्बन्धी सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट ट्रयाक औद्योगिक सेवा’ लागू गर्न पनि महासंघले सुझाव दिएको छ ।
महासंघका माग तथा सुझावबारे कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री वाग्लेले एमएसएमई क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।
महासंघले सरकार, निजी क्षेत्र तथा अन्य सरोकारवालाबीचको सहकार्यबाट उत्पादन र रोजगारी बढाउन तथा निर्यात विस्तार गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने जनाएको छ ।
यसै अवसरमा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ ।
महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी हुन् । रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको महासंघले जनाएको छ ।
महासंघले बाढी प्रभावित परिवारका लागि आवश्यक सामग्रीसमेत संकलन गरिरहेको जनाएको छ । संकलित सामग्री छिट्टै प्रभावित क्षेत्रमा पुर्याएर वितरण गरिने महासंघको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस