२०८३, आश्विन १० गते

भन्सारले उठायो १ खर्ब राजस्व, वार्षिक लक्ष्य भेट्न अझै ५ खर्ब २७ अर्ब उठाउनुपर्ने

बुधवार , आश्विन ७, २०८३

भन्सार विभागले चालु आर्थिक वर्ष २०८३/८४ को असोज ६ गतेसम्म १ खर्ब २ अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ। सरकारले चालु आर्थिक वर्षका लागि भन्सार विभागमार्फत ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।

असोज ६ सम्मको संकलन वार्षिक लक्ष्यको करिब १६.२४ प्रतिशत हो। लक्ष्य पूरा गर्न विभागले अब ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन गर्नुपर्नेछ।

चालु आर्थिक वर्षको सुरुआतमै चीनतर्फका दुई महत्वपूर्ण भन्सार नाका प्रभावित भएका छन्। तातोपानी भन्सार कार्यालय केही समयदेखि सञ्चालनमा छैन भने भोटेकोशीमा आएको बाढीका कारण रसुवा भन्सार कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएर सञ्चालनमा आउन सकेको छैन।

यी नाका सञ्चालनमा नरहेको विषम परिस्थितिका बीच पनि भन्सार प्रशासनको प्रयासबाट असोज ६ गतेसम्म १ खर्ब रुपैयाँभन्दा बढी राजस्व संकलन भएको विभागले जनाएको छ। चीनसँगको व्यापारमा महत्वपूर्ण भूमिका खेल्ने यी दुवै नाका प्रभावित हुँदा आयात तथा भन्सार राजस्व संकलनमा दबाब परेको अवस्थामा अन्य भन्सार कार्यालयबाट राजस्व संकलनलाई निरन्तरता दिइएको विभागको भनाइ छ।

भन्सार विभागले अब चालु आर्थिक वर्षको बाँकी अवधिमा ५ खर्ब २७ अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्यमा केन्द्रित हुने जनाएको छ। विभागले आगामी दिनमा राजस्व संकलनलाई प्रभावकारी बनाउन भन्सार प्रशासनका सबै संयन्त्र परिचालन गर्ने जनाएको छ।

वार्षिक लक्ष्यको करिब १६ प्रतिशत असोजको पहिलो सातामै संकलन भइसकेकाले बाँकी अवधिमा लक्ष्य पूरा गर्न औसत रूपमा अझ ठूलो परिमाणमा राजस्व उठाउनुपर्ने देखिन्छ। आयातको अवस्था, भन्सार नाकाको सञ्चालन तथा व्यापारिक गतिविधिले आगामी महिनाको राजस्व संकलनमा प्रत्यक्ष प्रभाव पार्नेछ।
 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!