नेपाल राष्ट्र बैंकले बिहीबारदेखि १ हजार रुपैयाँ दरको नयाँ बैंकनोट चलनचल्तीमा ल्याएको छ। साविककै आकारमा रङ परिमार्जन गरी तयार गरिएको ‘सिरिज २०२५’ को नोट आजदेखि प्रयोगमा आएको हो।
केन्द्रीय बैंकका अनुसार नयाँ नोटको मुख्य रङ बैजनी घेराभित्र फिक्का हरियो रहेको छ। नोटको अगाडिपट्टि गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत तथा तल्लो भागमा वि.सं. २०८२ अंकित गरिएको छ।
नयाँ नोटको संकेत नम्बर ट/५२ ०००००१ बाट सुरु भएको छ। राष्ट्र बैंकले यसअघि चलनचल्तीमा ल्याएको १ हजार दरको ‘सिरिज २०१९’ नोटको संकेत नम्बर ज/६८ ०००००१ देखि ट/५१ ४४०००० सम्म पुगेपछि नयाँ सिरिजबाट नोट निष्कासन सुरु गरिएको हो।
नयाँ नोट कसरी चिन्ने?
नयाँ १ हजारको नोटमा विगतको तुलनामा केही सुरक्षा विशेषता परिमार्जन गरिएको छ। नोटको बायाँतर्फ सगरमाथाको चित्र र दायाँतर्फ लालीगुराँसको पानीछाप राखिएको छ। पानीछापमा १ हजारको अंकसमेत देखिन्छ।
नोटको दायाँतर्फ ३.५ मिलिमिटर चौडाइको चलायमान सुरक्षा धागो राखिएको छ। सिधा हेर्दा रातो र ढल्काएर हेर्दा हरियो देखिने उक्त धागोमा ‘NRB’ र ‘1000’ अंकित गरिएको छ।
त्यस्तै, नोटको अगाडिपट्टि रहेको नीलो रङको ‘1000’ को केही अंशलाई प्रकाशतर्फ फर्काएर हेर्दा पूर्ण अंक देखिने व्यवस्था गरिएको छ।
दृष्टिविहीनका लागि पनि पहिचान गर्न सहज
नोटमा दृष्टिविहीन व्यक्तिका लागि छोएर पहिचान गर्न सकिने संकेतसमेत राखिएको छ। दायाँतर्फको तल्लो भागमा रोमन अक्षर ‘M’ राखिएको छ।
सगरमाथाको चित्रको बायाँ र पानीछापको दायाँतर्फ १०–१० वटा तेर्सा रेखा राखिएका छन्। यी विशेषताले नोट पहिचान गर्न थप सहज बनाउने राष्ट्र बैंकले जनाएको छ।
पछाडिपट्टि जुम्ल्याहा हात्तीको चित्र
नयाँ नोटको पछाडिपट्टि चितवनस्थित सरकारी हात्तीसारमा रहेको ‘राम’ र ‘लक्ष्मण’ नामका जुम्ल्याहा हात्तीको चित्र राखिएको छ। उक्त हात्ती ‘देवकली’ नामक हात्तीबाट जन्मिएका हुन्।
नोटको पछाडिपट्टि सातै प्रदेशलाई जनाउने गरी सातवटा लालीगुराँसका चित्र पनि राखिएको छ। दायाँतर्फ ‘RUPEES ONE THOUSAND’ लेखिएको छ भने हनुमानढोकास्थित लोंचोछेनमा रहेको ऐतिहासिक थामको आकृतिसमेत राखिएको छ।
तल्लो बोर्डरमा ‘2025 A.D.’ सिरिज अंकित गरिएको छ।
नयाँ नोट आए पनि पुरानो नोटको प्रयोगबारे के हुन्छ?
राष्ट्र बैंकले यसअघि निष्कासन गरेको १ हजार रुपैयाँ दरको सिरिज २०१९ को संकेत नम्बर ट/५१ सम्म पुगेपछि नयाँ सिरिजबाट नोट निष्कासन सुरु गरेको हो। नयाँ सिरिज जारी हुनुको अर्थ पुरानो नोट तत्कालै अमान्य हुने भन्ने होइन।
नयाँ नोटमा मुख्यतः सिरिज, रङ तथा केही सुरक्षा विशेषता परिमार्जन गरिएको छ भने यसको अंकित मूल्य भने साविककै १ हजार रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस