साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से ११.७७ अंकले बढेर २ हजार ६२९.८१ विन्दुमा पुगेर बन्द भएको हो।
परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। बुधबार ६ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएकोमा बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँमा सीमित भएको छ।
यस दिन ३५६ वटा धितोपत्रको १ करोड ७२ लाख ७० हजार ४४९ कित्ता सेयर किनबेच भएको छ। कारोबारमा आएका कम्पनीमध्ये १७६ वटाको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको घटेको छ। ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ।
बिहीबार नेपाल ल्युब आयलको सेयर मूल्य सर्वाधिक १२.४७ प्रतिशतले बढेको छ। कम्पनीको सेयर मूल्य बढेर प्रतिकित्ता २७१ रुपैयाँ ३० पैसा पुगेको छ।त्यस्तै, सोनापुर मिनरल्सको सेयर मूल्य ७.६५ प्रतिशतले बढेर प्रतिकित्ता १ हजार ४३४ रुपैयाँ ९० पैसा पुगेको छ।
यस दिन मिड सोलु हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ११.५८ प्रतिशतले घटेको छ। कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता ५५० रुपैयाँमा सीमित भएको छ।धौलागिरी लघुवित्तको सेयर मूल्य पनि १०.१९ प्रतिशतले घटेको छ। कम्पनीको प्रतिकित्ता सेयर मूल्य १ हजार २०५ रुपैयाँ १० पैसा कायम भएको छ।
बिहीबार कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको प्रतिकित्ता ७०२ रुपैयाँका दरले ३५ करोड ८१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। यो अघिल्लो दिनको तुलनामा २.१८ प्रतिशत बढी हो।
त्यस्तै, हिमालयन डिस्टिलरी दोस्रो धेरै कारोबार हुने कम्पनी बनेको छ। कम्पनीको प्रतिकित्ता १ हजार ३१२ रुपैयाँका दरले ३५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
बिहीबार कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये १२ समूहको परिसूचक बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक घटेको छ।उत्पादन तथा प्रशोधन समूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशतले बढेको छ। अन्य समूहका परिसूचकमा पनि सामान्य वृद्धि देखिएको छ।
प्रतिक्रिया दिनुहोस